सगरमाथा शिखरमा फर्फरायो- 'नेपाल र अमेरिकाबीचको भित्रताको झण्डा'

तस्विर सौजन्य: कर्मा तेन्जिङ ट्विटर

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल-अमेरिका मित्रताको झण्डा प्रदर्शन गरिएको छ।सगरमाथा शिखरमा पहिलोपटक पहराइएको यो झण्डा पर्वतारोही कर्मा तेन्जिङले फहराएका हुन्।झण्डामा 'फ्रेण्डसिप बिटविन नेपाल एन्ड अमेरिका' लेखिएको छ।

नेपाल र अमेरिकाबीचको मित्रताको चिनोका रूपमा फहराएको यो झण्डालाई काठमाण्डौस्थित अमेरिकी दूताबासले आफ्नो सामाजिक सञ्जालमा महत्वका साथ स्टाटस बनाउको छ। स्टाटसमा लेखिएको छ- 'संसारको सबैभन्दा उच्च स्थान सगरमाथाबाट आएको यो सुन्दर सन्देश पढ्नुहोस्। कर्मा तेन्जिङजीलाई सफल सगरमाथा आरोहणको लागि धेरै धेरै बधाई तथा सन्देशमा भनिएजस्तै हामी यो झन्डा ग्रहण गर्न उत्साहित छौं। दुई देशबिचको जनस्तरको सम्बन्धको कति राम्रो उल्लेख।'

नेपाल र अमेरेकाबीच राणा शासनकालमै सन् १९४७ मा दौत्यसम्वन्ध सुरू भएको हो। सन् १९४९ देखि त काठमाडौंमा अमेरिकाको राजदूतबास नै रहदै आएको छ।केही अपवाद बाहेक नेपाल र अमेरकाबीच विगत ७२ वर्षदेखि सुमधुर सम्बन्ध रहदै आएको छ। 

अमेरिकामा ठुलो संख्यामा नेपाली डायस्परोरा पनि छ। एक अनुमानअनुसार तीनलाख ५० हजार नेपाली अमेरिकाका सबै ५० राज्यमै छरिएर बसेका छन्।

सन् १९१९ मा अमेरिकामा पहिलो पाइला टेक्ने नेपाली पद्म सुन्दर मल्ल थिए। त्यसयता १०० वर्ष बितेको छ र यसबीचमा लाखोै नेपालीले अमेरिकामा पाइला टेकिसकेका छन्। अमेरिकामा अहिले चौथो पुस्ताका नेपाली भेटिन थालेका छन्। 

नेप्लिज अमेरिकन भनिने नेपालीहरूको संख्या पनि हजारौ भैसकेको छ। अमेरिकी समाजका हरेक तह र तप्कामा पाइने नेपाली मूलका अमेरिकीहरू पछिल्लो समय राजनीतिमा पनि देखिन थालेका छन्। ह्यारी भण्डारी अमेरिकाको मूख्य पार्टी डेमोक्रेटिक पार्टीबाट मेरिल्याण्ड राज्यको सांसदमै विजयी भैसकेका छन्। 

अमेरिका नेपाललाई सहयोग गर्ने पहिलो नम्बरको देश हो। ह्वाइट हाउसमा 'गधा' आए पनि 'हात्ती' आए पनि नेपालले अमेरिकी सहयोग निरन्तर पाइरहेकै छ। अहिले नेपालमा नेपाली नै बोल्ने बेरी अमेरिकी राजदूत छन्। पहिला अर्कै भूमकामा नेपाल रहिसकेका बेरी नेपाललाई नजिकबाट बुझ्ने हैसियत राख्छन्। 

नेपालले पनि अमेरिकालाई ठुलो महत्व दिएको छ। अहिले वासिङ्टन डीसीमा मन्त्रिस्तरकै डा. अर्जुनकुमार कार्की राजदूत रहेका छन्। यस अतिरिक्त न्युयोर्कमा पनि महावाणिज्यदूतावास स्थापना गरिएको छ। 

https://twitter.com/karma10zing/status/1130646479352127489

प्रकाशित मिति: : 2019-05-21 23:37:00

प्रतिकृया दिनुहोस्