ब्राजिलियन क्लब सान्तोषका पूर्व अध्यक्ष जोसे कार्लोस पेरेसले आफ्ना देशका स्टार खेलाडी नेइमारलाई स्पेनी फुटबलमा फर्कन सुझाव दिएका छन्।
उनले २७ वर्षीय नेइमारका लागि फ्रेन्च लिग उपयुक्त ठाउँ नभएको भन्दै स्पेनी फुटबलमा फर्कन आग्रह गरेका हुन्।
पेरेस किशोर अवस्थामा नेइमार सान्तोषबाट खेल्दा क्लब अध्यक्ष थिए। उनकै पालामा १८ वर्षीय नेइमार सान्तोष छाडेर स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका थिए।
पेरेसले बार्सिलोना छोड्ने नेइमारको निर्णय पनि अपरिपक्व भएको बताएका छन्। र, उनलाई अहिलेको अवस्थामा बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड फर्किन सुझाव दिएका छन्।
नेइमार हाल सर्वाधिक मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध छन्। र, उनले शनिबार एन्जर्सलाई एकका विरूद्ध दुई गोलले पराजित खेलको नतिजा पछि ट्वीट गरेका थिए, फेरि अर्को पल्ट भेटौंला लिग!
उनको ट्वीट सार्वजनिक भएपछि पेरेसले प्रतिक्रिया स्वरुप भने, नेइमारका लागि उपयुक्त स्थान भनेको नै रियल म्याड्रिड हो। मलाई विश्वास छ, उनी रियल फर्किने छन्।
उनी खेलाडीको रूपमा परिपक्व हुन अझै बाँकी थियो। उनले बार्सिलोना छोडेपछि त्यति राम्रो गर्न सकिरहेका छैनन्।