खप्तड : दूर रहेन सुदूरको सुन्दर स्वर्ग

जता हेर्‍याे उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू। पर्सियन कार्पेट ओछ्याएझैं थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीविरङ्गी पुतलीहरू।

चारैतिर कलमी गरेझैं लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस। अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान।

डोटी, अछाम, बझाङ र बाजुराको संगम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन्। त्यही हरियो पाटनमा लडीबुँडी खेलिरहुँ झैं लाग्छ।

छिनमै वर्षात र छिनमै हिउँ।  केहीबेरमै मान्छे उडाउँला झैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम। र, अलि लम्किँदा छोइएला झैं लाग्ने हंसमुख हिमालहरू।खप्तड बाबाको कुटीकाे ठीक पछाडि उभिरहे झैं देखिने अपि र सैपाल हरदम हाँसिरहे झैं  लाग्छ।

प्राकृतिक सौन्दर्यले पूर्ण छ, खप्तड। यसलाई स्वर्ग भन्दा फरक पर्दैन।
 
सुदूरपश्चिम प्रदेशको सवैभन्दा आर्कषक गन्तव्य खप्तड घुम्न जानेहरुलाई लागि उपयुक्त समय यही हो। चैतदेखि जेठ र असोजदेखि मंसिरसम्म खप्तड घुम्ने उपयुक्त समय हो।

प्रकाशित मिति: : 2019-05-11 16:28:53

प्रतिकृया दिनुहोस्