नेपालद्वारा भिसा शुल्कमा वृद्धि: नेपालीमूलका लागि पनि महंगियो नेपाल यात्रा र बसाइ

नेपालीमूलका अमेरिकीहरूको लागि अब नेपाल बसाइ थप महंगो हुने भएको छ। सरकारले अमेरिकी नागरिकका लागि बहुप्रवेशी भिसाको शुल्क र नेपालमा थप दिन बस्दा तिर्नुपर्ने शुल्कमा वृद्धि गरेसँगै नेपालीमुलका अमेरिकीका लागि पनि नेपाल यात्रा महंगो भएको हो । 

सरकारले अध्यागमन विभाग नियमावली २०५१ को अनुसूचि ९ र १२ संशोधन गर्दै विदेशीको नेपाल प्रवेशलाई महंगो बनाएको हो। वैशाख २३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउँने छ।

नयाँ व्यवस्थाअनुसार यसअघि १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाको २५ अमेरिकी डलर शुल्क रहेकोमा अब त्यसका लागि ३० अमेरिकी डलर बुझाउनुपर्दछ। यसैगरी ३० दिनको बहुप्रवेशी सुविधासहितको भिसा शुल्क ५० डलर भएको छ। यसअघि यस प्रयोजनका लागि ४० अमेरिकी डलर तिरे पुग्थ्यो। 

अब  ९० दिनको भिसा शुल्क एक सय २५ डलर तिर्नुपर्ने छ, यसअघि एकसय डलर तिरे पुग्थ्यो। भिषा म्याद थप एक दिनको दुई डलर रहेकोमा त्यसमा पनि बृद्धि गरी तीन अमेरिकी डलर पुर्याइएको छ।

यसैगरी ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने व्यवस्था गरिएको छ। 

 

प्रकाशित मिति: : 2019-05-10 18:17:49

प्रतिकृया दिनुहोस्