प्रधानमन्त्री केपी शर्मा ओली ४२ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै भियतनाम र कम्बोडियाको पाँचदिने भ्रमणमा निस्कदैछन्। उनी नेपाल वायुसेवाको विमान चार्टड गरी नेपाली समयअनुसार विहिबार ११:२५ बजे भियतानामको राजधानी हनोइका लागि उड्न लागेका हुन्।
दुईतिहाई बहुमतको प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीको यो पाँचौ विदेश भ्रमण हो। यसअघि भारतबाट विदेश यात्रा सुरू गरेका प्रधानमन्त्री ओलीले त्यसपछि चीन, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा र निकारागुवा र डाभोस फोरममा भाग लिन स्वीट्जरल्यान्डको भ्रमण गरिसकेका छन्।
यसपटकको भ्रमणमा उनी पहिलो तीन दिन भियतनाममा हुनेछन् भने अन्तिम दुई दिन कम्बोडियामा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ओलीको ४२ सदस्यीय भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, धानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ छन्।
यसैगरी परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ फ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, परराष्ट्र मन्त्रालयका सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य रहने छन्। भ्रमण दलमा ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत रहने छन्।
निजी क्षेत्रको तर्फबाट भ्रमणदलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल रहेका छन्।
भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा गरिन लागेको यो भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताइएको छ।