तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । ‘गोरखापत्र’लाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्याएर आफू पन्सिन्छ ।
पैसा कमाउने अभिप्रायमा सीमाङ्कित सोचभित्र राष्ट्रियता र पहिचानको विषय निम्जो बन्दो रहेछ । गरिबीको फाइदा उठाउने षड्यन्त्रसँग हामी पलायनवादी सोचको दास बनेर बेसुरे बन्छौं । भाषा र संस्कृतिमा प्रहार गरेपछि परजीवी बन्ने उदाहरणको खलपात्र बन्दा पनि लाज र डरको रेखा हामीमा देखिन्न । मैले यहाँ अङ्ग्रेजी भाषाको विरोध गरेको छैन, भाषा त भाषा नै हो तर समाजले अङ्ग्रेजी भाषाको मिश्रणमा ठालुपन देख्न थाल्यो । अङ्ग्रेजी पनि राम्रोसँग जान्दैन र शुद्धतामा पनि ध्यान छैन । शङ्का छ– कतै हाम्रो समाजले अङ्ग्रेजी जान्नुलाई नै समृद्धिसँग बुझ्न त थालेन ?