कांग्रेसमा गणतन्त्रको विषय उठाउँदा उहाँ (नरहरि आचार्य) को निकै विरोध भएको थियो। पार्टीले समेत बेलाबेलामा उहाँलाई स्पष्टिकरण सोधिरहन्थ्यो।
म छक्क पर्थें र सोच्थेँ, ‘ए, बाबा कस्तो मान्छेसँग विवाह भएछ मेरो।’
प्रजातन्त्र नआउँदै पनि ऊ सधैँ स्पष्टिकरण नै बोकेर आउँथ्यो विश्वविद्यालयतिरबाट। र, आफ्नै पार्टीको हालिमुहाली रहेको बेला पनि पार्टीले उसँग स्पष्टिकरण नै लिइरहेको छ भन्ने लाग्थ्यो।
उसले गणतन्त्र र संविधानको कुरा गर्दा मैले सुरु–सुरुमा त्यति बुझिनँ पनि। गणतन्त्र भनेको के हो भन्ने विषयमा हाम्रो छलफल हुन्थ्यो, विवाद पनि हुन्थ्यो। कहिलेकाहीँ म ‘यस्ता विवादका कुरा नगर’ भन्थें। कहिलेकाहीँ झगडा पनि गर्थें। किनभने, उसले यस्ता कुरा उठाउँदा चारैतिरबाट विरोध हुन्थ्यो र मलाई दुःख लाग्थ्यो।
मैले गणतन्त्रको बारेमा नबोल भनेपनि उसले बोल्न छाडेन।
ऊ के भन्थ्यो भने, ‘राजतन्त्र र प्रजातन्त्र सँगसँगै लैजान हामीले धेरै प्रयास गर्यौं। तर, यही तानातानमा अगाडि बढ्न सकेन, सक्दैन। त्यसैले, अब गणतन्त्र चाहिन्छ।’
अर्कोतर्फ मेरो बुबा (महेश्वर शर्मा) भन्नुहुन्थ्यो, ‘कमसेकम सांस्कृतिक एकताका लागि त राजा चाहिन्छ। राजालाई अहिल्यै फालिहाल्नु हुन्न।’
बुबाको कुरा पनि मलाई ठीकै लाग्थ्यो। त्यसैले, गणतन्त्रको विषयमा म जहिल्यै अलमलिन्थेँ। गणतन्त्र, संविधानसभाको कुरा सुन्दा असहज लाग्थ्यो।
त्यसपछि धेरै घटनाहरु घटे, मुलुकको जीवनमा र हाम्रो जीवनमा पनि। राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिँदा म दिल्लीमा थिएँ, त्यहीँ बसेर काम गर्थें। नरहरिजी काठमाडौँमै हुनुहुन्थ्यो र उहाँ हराउनु भएको थियो। म उहाँलाई खोज्न नेपाल आएँ। तर, भेटिनँ। एक हप्तासम्म त के भएको छ नेपालमा भन्ने नै थाहा भएन। उहाँलाई खोज्न मलाई हैरान नै भयो।