भारतीयलाई नेपाली नागरिकता

बुबा बनेर आएका नेपाली नागरिक बमबहादुर गुरुको नेपाली नागरिकता र छोरा बनेर आएका भारतीय नागरिक भूपाल गुरुङको भारतीय मतदाता परिचयपत्र।

बिर्तामोड : भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो।

गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो। झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो।

पहिले नागरिकता बनाउन बाबुछोरा बनेर आउने दुईजना पक्राउ गरी अनुसन्धान भरहेकोमा अहिले जनप्रतिनिधि, कर्मचारी र मुचुल्कामा सही गर्ने स्थानीयका नाममा पनि पक्राउ पुर्जी जारी भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

भूपालको भारत असम राज्यको मणिपुर कानकोपी जिल्ला भएको भारतीय मतदाता परिचयपत्र पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको होे। परिचयपत्रमा भूपालको बुबाको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ। दुवै जनालाई झापा अदालतबाट म्याद थपेर प्रहरी कार्यालयमा रािखएको छ। भारतीय नागरिक भूपाललाई नागरिकता बनाउन सहयोग पुर्‍याउने मुचुल्का, सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीका नाममा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-05-01 08:03:49

प्रतिकृया दिनुहोस्