क्यानडामा एउटै कम्पनीको स्वामित्वमा रहेको र कम्पाउण्ड पनि एउटै भएको कन्डोमेनियम (अपार्टमेन्ट) मा एकै समुदायका कति परिवारसम्म रहलान् ?
चिनियाँ, भारतीय, फिलिपिनो आदिका हकमा हो भने ५० औं परिवार पनि नरहलान् भन्न सकिन्न।किनकि, क्यानडामा ती समुदायको संख्या ठुलो छ।
तर, टोरन्टोको अपटाउनमा रहेको एक कम्पनीका भवनमा अहिले ३२ नेपाली परिवारका एक/एक अर्थात् ३२ वटै कन्डोमेनियम छन्।
यसले क्यानडामा नेपालीको फैलँदो उपस्थिति मात्र दर्शाउँदैन, घर (टाउन हाउस, कन्डोमेनियम, सेमी डिट्याच र डिट्याच घर) किन्नेक्रम पनि बढेको प्रष्ट्याउँछ।
क्यानडामा नेपालीले घर किन्ने परिपाटी ‘नानी पाउँनु कहिले–कहिले, कोक्रो बुन्नु अहिले’ भन्ने उखान जस्तो छैन।भविष्यप्रति बेलैमा बुद्धि पुर्याउनु राम्रो भए पनि धेरै हतार गर्नु पर्दैन भन्ने अर्थमा यो उखान बढी प्रयोग हुन्छ। तर, यहाँ पछि आफ्नो हुने घरका लागि नेपालीले पहिल्यै लगानी गर्ने हतारो देखिन्छ।
व्यवसायीले निर्माण सुरु नगर्दै अग्रिम बुकिङ गरेर घर किन्ने नेपाली टोरन्टो क्षेत्रमा थुप्रै छन्। त्यसैको एउटा उदाहरण हो– नर्थ योर्कस्थित लरेन्स एभेन्यु वेष्टमा अवस्थित ‘८३० ट्रेविसो कन्डोज्।’
‘८३० ट्रेविसोमा क्यानडा बस्ने ३२ नेपाली परिवारका छुट्टाछुट्टै कन्डोमेनियम छन्’ टोरन्टोमा डेढ दशकदेखि रियल स्टेट व्यवसाय गर्दै आएका मदन केसी भन्छन्, ‘एउटै प्रपट्रीभित्र त्यति धेरै नेपालीको स्वामित्व हुनु पक्कै पनि गर्वको कुरा हो ।’
दुईदेखि चार बर्षभित्र निर्माण पूरा हुने त्यस्ता घरमा पहिल्यै लगानी गरेर आफ्नो स्वामित्व जोगाउने ‘सचेत’ नेपाली धेरै छन्।जसको उदाहरण पनि उही कन्डोमेनियम हो, जसमा नेपालीले अगुवा नेपाली व्यवसायी केसीमार्फत नै निर्माण सुरु हुनुअघि लगानी गर्न थालेका थिए।
सन् २०१२ मा निर्माण थालेपछि आफूमार्फत् नेपालीले किन्न चासो देखाएको र सन् २०१६ मा निर्माण पूरा भइसक्दा कन्डोमेनियममा ३२ नेपाली परिवारको स्वामित्व रहेको केसीले बताए।
‘अरुतिर जस्तै क्यानडामा पनि त्यसरी निर्माण सुरु नहुँदै लगानी गर्न थाल्दा केही सस्तो पर्छ’ रियल स्टेट व्यवसाय थालेयता झण्डै तीन सय घर किनवेच गरेको दावी गर्दै केसीले भने, ‘२०/४० हजार डलर जोगाउन सचेत हुनेले बन्नुअघि नै त्यस्ता घरमा लगानी गर्छन्, हतारमा हुनेले चाहिँ बनिसकेकै किन्छन्।
सन् १९९८ देखि टोरन्टोलाई कर्मथलो बनाएका केसीले २००३ मा रियल स्टेटको पढाई सकेर क्यानडाको चर्चित ‘रिम्याक्स’ कम्पनीमार्फत व्यवसाय अघि बढाएका हुन्।क्यानडामा नेपालीको बाक्लो आगमन सुरु नहुँदै रियल स्टेट व्यवसायमा हात हालेका केसीका मुख्य ग्राहक भने कालान्तरमा नेपाली नै हुनपुगे।
‘जब मैले व्यवसाय सुरु गरें, नेपालीहरु पनि अवसरको खोजीमा बिस्तारै बिस्तारै क्यानडा आउनेक्रम सुरु भयो’ उनले अनुभव सुनाए, ‘त्यसैक्रममा गाँस, बास र कपास प्रमुख आवश्यकता भनेझैं अलि समय डेरामा बस्ने नेपाली बिस्तारै रकम जुटाउँदै घर किन्नतर्फ लागे।’
तनहुँको दमौलीमा जन्मेर नेपालमा पोल्ट्री व्यवसायसमेत गरेका केसी टोरन्टो क्षेत्रमा त्यसपछि सफल रियल स्टेटरका रुपमा दरिए। ‘रिम्याक्स’ कम्पनीमा सन् २००३ देखि २०१६ सम्म आवद्ध हुँदा तीन सय हाराहारीमा घर किनबेच गरेको दावी गर्दै उनले भने, ‘त्यसमा ९० प्रतिशत ग्राहक नेपाली हुन्।’
सन् २०१६ देखि आफैं कार्यकारी निर्देशक भई अरु नेपाली साझेदार लिएर स्थापना गरेको ‘एभरेष्ट रियाल्टी ब्रोकरेज् लिमिटेड’मार्फत अहिले पनि केसी टोरन्टो क्षेत्रमा घर किनबेच गरिरहेकै छन्।
यत्तिका बर्षको कारोवार र अनुभवलाई आधार मान्दै केसीले टोरन्टो क्षेत्रमा चारदेखि पाँचहजार घरमा नेपालीको स्वामित्व रहेको दावी गरे।‘यो संख्या अझ बढी पनि हुनसक्छ’ केसी भन्छन्, ‘बाहिर हत्पती नदेखिने नेपालीका पनि एउटा होइन, दुईटा तीनटासम्म घर छन्।’
उनको आँकलन सही लाग्छ।किनकि, नेपालीले पहिले किनेका घर भाडामा लगाएर नयाँमा बस्छन्।तेस्रो किनेको खण्डमा दोस्रो घर पनि भाडामा लगाउँछन्।त्यसैले ३२ नेपालीको स्वामित्व रहे पनि ‘८३० ट्रेविसो’ कन्डोज्मा अहिले लगानीकर्ता र तिनका परिवार खासै बस्दैनन्।प्रायःले त्यो भाडामा लगाएर दोस्रो–तेस्रो किनिसकेका छन्।
अझ महत्वपूर्ण त यो छ कि, टोरन्टो क्षेत्रमा केही नेपालीले अढाईदेखि तीन मिलियन डलरसम्मका घर खरिद गरेका छन्।जो यहाँ बस्ने बहुसंख्यक नेपालीका लागि जिब्रो टोक्न बाध्य पार्ने लगानी हो ।
त्यति मात्रै होइन, सन् २०१०/१२ भन्दाअघि एउटा घर किनेका नेपालीमध्ये कतिपयले अहिले दोस्रो, तेस्रो र चौथोसम्म किन्न सफल भएको उनले देखेका छन् ।
क्यानडामा घरमाथि गरेको लगानी कहिल्यै खेर नजाने र हरेक १० बर्षमा दोब्बर हुने अनुभव सुनाउँदै उनले भने, ‘यहाँ एउटै घर हुनु पनि ठूलो कुरा हो, अहिले कतिपय नेपालीका ३/४ वटासम्म छन्, यो नेपालीले क्यानडामा गरेको प्रगति हो।’
केसीका अनुसार, यहाँ पहिलोपल्ट घर किन्न नभई नहुने तीन कुरा छन्।१, डाउन पेमेन्ट २, राम्रो क्रेडिट ३, नियमित आय। ‘घर किन्न सुरुमा कूल मूल्यको ५ देखि २० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’ गर्नुपर्छ, त्यसनिम्ति पैसाको बन्दोबस्त हुनुपर्यो’ उनले सुनाए, ‘त्यो सँगसँगै बैंकले ऋणमा विश्वास गर्न राम्रो क्रेडिट र नियमित आम्दानीको स्रोत हुनैपर्छ।’
‘डाउन पेमेन्ट’वापतको रकम यहाँ पहिल्यै जोहो गरेकालाई घर किन्न खासै समस्या पर्दैन।जोहो नगर्नेले चाहिँ नेपालबाटै ल्याउँछन्।हुनेले आफ्नै बचतबाट त नहुनेले– ऋण खोजेर। ऋण नभेट्टिए जायजेथा बेचेरै।यसरी नेपालबाट पैसा ल्याएर क्यानडामा घर जोड्ने नेपाली पनि धेरै छन्।किनेपछि मासिक किस्ताचाहिँ यतैको कमाईले तिर्छन्।
अहिले टोरन्टोको मिसिसागा र ब्राम्प्टनमा कन्डोमेनियमको औसत मूल्य पाँचलाख, टाउन हाउसको छलाख, सेमीडिट्याच घरको सातलाख र डिट्याच घरको आठलाख डलर रहेको केसीले बताए।यीभन्दा केही परका शहरमा भने घरको औसत मूल्य कम छ।
‘डाउन पेमेण्ट जति बढी तिर्यो, मासिक किस्ता उति कम हुन्छ’ घर खरिद प्रक्रियाबारे केसीले भने, ‘मासिक किस्ता खुरुखुरु तिरिरहँदा गाह्रो छैन, तीन महिनासम्म किस्ता तिर्न नसक्दा चाहिँ घर फिर्ता लिन्छ।’ नेपालीका हकमा भने अहिलेसम्म त्यस्तो नदेखिएको उनले सुनाए।
‘क्यानडामा लिगल्ली बसेर लिगल्ली काम गरेको खण्डमा सामान्य काम गर्ने परिवारले पनि घर किन्नसक्छ’ नेपालीलाई नेपाली रियल स्टेटरमार्फत घर किनवेच गर्दा ठगिने सम्भावना कम हुने सुझाव दिँदै केसीले भने, ‘सुरुमा आँट पनि चाहिन्छ, किनेपछि इमान्दारीपूर्वक काम गर्दै किस्ता तिर्दा बिस्तारै घर आफ्नो भइहाल्छ।’