राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा: काम लागेन रहाणेको शतक

तस्बिरः एजेन्सी

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ।

राजस्थानले दिएको १९२ रनको बिशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकि छँदै ४ विकेट गुमाएर भेट्टायो।

दिल्लीको जितमा ऋषव पन्तले उत्कृष्ट ब्याटिङ गर्दै अभिजित ७८ रन बनाए।  ३६ बल खेलेका पन्तले ४ छक्का र ६ चौका प्रहार गरे।

ओपनर पृथ्वी शाँसँग ८४ रनको साझेदारी गरेका पन्तले टिमलाई सहज जिताएका हुन्।

पृथ्वीले ४२ रन बनाउँदा अर्का ओपनर शिखर धवनले अर्धसतकीय इनिङस खेले। मात्र २७ बल खेलेका धवनले २ छक्का र ८ चौका प्रहार गरेका थिए।

शेरफाने र्‍यूदरफोर्डले ११ रन बनाउँदा कप्तान श्रेयस ऐयर ४ र कोलिन इन्ग्राम ३ रन बनाएर नटआउट रहे।

राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे।  आफ्नो आईपीएल करियरकै उत्कृष्ट शतक प्रहार गरेका रहाणेले ५८ बलमा शतक पुरा गरेका हुन्।

कुल ६३ बल खेलेका रहाणेले ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे। अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजस्थानलाई विशाल योगफलसम्म पुर्‍याएका थिए।

कप्तान स्मिथले ३२ बल खेल्दै ८ चौकासहित ५० रनमा आउट भए।

बेन स्ट्रोक्स ८,एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भएका थिए।

दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा, क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिएका थिए।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका नपाएको खेल जितेसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

दिल्लीले ११ खेल खेल्दै ७ जित र ४ हारसहित १४ अंक जोड्दै शीर्ष स्थानमा पुगेको हो। समान १४ अंक रहेको चेन्नई सुपर किङ्स रनरेटमा पछि परेको हो। यद्यपी उसले १० खेल मात्र खेलेको छ।

 

प्रकाशित मिति: : 2019-04-23 00:06:59

प्रतिकृया दिनुहोस्