मन्दिरको घन्टी र कुचो बढारेको खस्य्राक–खस्य्राक आवाजले निद्रा खुल्यो। होटलको कोठाबाट बाहिर बरण्डामा निस्किए। बन्दीपुरको मूल चोक सिनित्त थियो। चोकबीचको पद्म पुस्तकालयको झिँगटीको छानाबाट बाफ फुस्फुस् उड्दै थियो।
चोकपारि झिंगु गेस्ट हाउसको झ्यालबाट एक विदेशी पर्यटक पनि चोकको सुन्दरता नियाल्दै रहेछन्। हाम्रा आँखा जुधे। माथि कपडा नलगाएका उनी थचक्क बसे, घाँटी झ्यालबाहिर तन्काएर। चोकसँग रमाउन भने छाडेनन्।
म पनि चलमलाइनँ। चोकतिर फोनको क्यामेरा तेर्स्याएँ। दृश्यमा कैद भए– पद्म पुस्तकालयको प्राचीन भवन, त्यसपछाडि टुप्पोमात्र देखिएको विन्ध्यवासिनी मन्दिर, चोकपारि झिंगु गेस्ट हाउस, म बसेको होटलका बरण्डाका फूलहरू, चोकमा छापिएका ढुङ्गाका स्लेटहरू।
अनि कैद भइन् भर्खरै लट्ठी टेक्दै चोकमा आइपुगेकी, कपाल सेतै फुलेकी, गेरू बर्को ओडेकी एक वृद्धा। म दंग परे।