२८ चैत, काठमाडौं । अनेकन् रोगले थिलथिलो बनाएको ज्यानलाई पारिलो घाममा सेकाएर टहरोछेउ टुक्रुक्क बसेका छन् पदमबहादुर माझी । बिनाशकारी भूकम्पपछि आश्रय लिएको यही सानो टहरोमा कुँजिएर उनले चार हिउँद काटिसके ।
यो छाप्रोले न चिसो सिरेटो थेग्न सक्छ, न दर्के झरी । कहिले रुझ्दै, कहिले कठ्याङ्ग्रिँदै प्राण जो धान्नुपरेको छ । ‘यो जुनी यसै बित्यो,’ बुढ्यौली यात्रामा हिँडिरहेका पदमबहादुरलाई लाग्न थालेको छ, ‘अरु जे भए पनि सुविस्ताले मर्न पाए हुन्थ्यो ।’