ओलीजी जथाभावी बोलिरहनु भएको छ: शेखर कोइराला

Break n Links
Break n Links

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। पाँचथर पुगेर उनले प्रधानमन्त्रीको पदमा बसेका व्यक्ति आफ्ना कार्यकर्ताहरूलाई ‘कब्जा’ अनि ‘नियन्त्रण’का लागि निर्देशन दिनु गैरजिम्मेवारीपन भएको समेत बताए। 

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौं कब्जा गर्न निर्देशन दिन मिल्दैन’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो। 

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने पनि बताए। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले काँग्रेस कार्यकर्ताहरू स्वभिमानी बन्नुपर्ने पनि बताए। 

‘नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदैन’ कोइरालाले भने ‘कार्यकर्ताहरू स्वभीमानी बन्नुपर्छ। आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ। नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ।’ 

नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए।

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए। सोही दिन राजावादीहरुले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो।
 

प्रकाशित मिति: : 2025-05-26 18:59:00

प्रतिकृया दिनुहोस्