इजरायल र हमासबीच युद्धबिराम सहमति लगभग अन्तिम चरणमा पुगेको छ। शनिबार अबेरदेखि कतारमा दुबै पक्षका प्रतिनिधिहरू वार्तामा बसेका छन्। यो वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको छ।
यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायललाई पटक पटक युद्धबिरामका लागि चेतावनी दिइसकेका छन्।
केही दिनअघिमात्रै हमासले बन्धक बनाएका एकजना अमेरिकी नागरिक रिहा गरेको थियो। उसले बन्धक बनाएकाहरुमध्ये ती व्यक्ति अन्तिम अमेरिकी नागरिक थिए।
इजरायले गत सातादेखि गाजापट्टीमा भयानक आक्रमणहरू गर्दै आएको छ। यी आक्रमणहरूमा कम्तीमा ३ सय जनाभन्दा धेरै मानिस मारिइसकेका छन्।
कतारमा भइरहेको यो वार्तामा कम्तीमा ६० दिन युद्धबिराम गर्ने र दुबैले सबै बन्धकहरू छोड्ने सहमति अन्तिम चरणमा पुगेको छ। अझै वार्ता जारी भएका कारण केही समयपछि सबै सम्झौता सार्वजनिक गरिने बताइएको छ।
इजरायालले बाँकी रहेका सबै बन्धकहरू जिवितै रहेको प्रमाण र उनीहरूबारे एकएक जानकारी दिन पनि हमासलाई भनेको छ।
यो वार्तापछि राहत सामग्रीले भरिएका ४ सयभन्दा बढी ट्रकहरूलाई गाजापट्टीमा प्रवेश गर्न पनि अनुमति हुनेछ। दुबैले प्रतिबन्ध लगाएका कारण गाजा क्षेत्रमा मानवीय सहायता पुग्न सकेको छैन। जसका कारण लाखौं मानिस भोकप्यासै छन्।
गाजापट्टीलाई आफ्नो नियन्त्रणमा लिइछोड्ने भन्दै इजरायलले गत सातादेखि त्यहाँ निर्णायक आक्रमण सुरु गरेको जनाएको थियो। उसले आफ्ना सैनिकहरूलाई गाजापट्टीका अधिकांश भागमा तैनाथ पनि गरिसकेको छ।
सन् २०२३ को अक्टुबरमा हमासले एकाएक सयौं क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले युद्धको घोषणा गरेको थियो। त्यसयता लगभग ५५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्।
त्यो युद्धको सुरुवातमा दश जना नेपाली पनि मारिएका थिए। एकजना बिपिन जोशीलाई हमासले नियन्त्रण लिएको थियो। उनको अवस्थाबारे अहिलेसम्म यकीन तथ्य बाहिर आइसकेको छैन। नेपाल सरकारले उनको रिहाइका लागि कुटनीतिक प्रयास थालिरहेको छ।