अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भारत-पाकिस्तान’ युद्धबिरामका लागि तयार भएको सन्देश सामाजिक सञ्जालमार्फत दिइरहँदा दुई देशका सैनिकहरू आपसमा भिडिरहेका थिए।
त्यसबारे न भारतीय सञ्चारमाध्यमहरूलाई थाहा थियो न लडिरहेका सैनिकहरूलाई। त्यसको केही समयपछि रक्षामन्त्रालयको नियमित ब्रिफिङमा रक्षा सचिव बिक्रम मिस्रीले शुक्रबार साँझ पाँच बजेदेखि युद्ध बिराम भएको घोषणा गरे।
त्यो बेलासम्म भारत सरकारले आधिकारिकरुपमा केही बोलेको थिएन।
यो पनि-
ट्रम्पले आफूले रातभरि भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्ध बिराम गराएको सन्देश दिएका थिए।
भारतले पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि लगभग सुरु भएको दुई देशबीचको युद्ध लगभग ८६ घण्टा घमासान चल्यो।
त्यसको दुई दिनपछि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरे। त्यसमा उनले पाकिस्तानले ‘अन्तर्राष्ट्रिय समुदायसँग हार-गुहार’ लगाएपछि युद्धबिराम भएको बताए। तर उनले त्यसमा अमेरिकाको नाम कतै लिएनन्।
तर सोमबार नै ट्रम्पले ह्वाइटहाउसमा भनिरहेका थिए ‘अमेरिकाले ब्यापार बन्द गर्ने चेतावनी दिएपछि भारत र पाकिस्तान युद्धबिराम गर्न बाध्य भए।’
ट्रम्पले यो युद्ध रोकेर ठूलो परमाणु युद्ध रोक्न अमेरिका सफल भएको दाबी पनि गरे।
मोदीले भने युद्धबिरामका लागि अमेरिकाको भूमिकालाई सम्बोधन नै गरेनन्।
बरु पाकिस्तानले विदेशीसामु हारगुहार गरेको र शुक्रबार दिउँसोतिर नै पाकिस्तानी सैन्य निर्देशकले भारतीय सैन्य निर्देशकलाई फोन गरेर युद्ध रोक्न अपिल गरेको दाबी गरे।
योसँगै भारतमा मोदीको कडा आलोचना भइरहेको छ। उसै पनि युद्धबिरामपछि भारत केही क्षणमै घुँडा टेक्न बाध्य भएको भन्दै मोदीलाई ट्रोल बनाइएको थियो।
राष्ट्रका नाममा मोदीले गरेको सम्बोधनलाई लिएर अहिले भारतमा अनेकथरि टीकाटिप्पणीहरू गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत मोदीको सम्बोधनको आलोचना गरेका छन्।
सम्बोधनका क्रममा मोदीले पाकिस्तानलाई कडा चेतावनी अनि धम्कीहरू पनि दिएका छन्।
युद्धबिरामलाई भारतको कमजोरी नठान्न भन्दै उनले अहिलेका लागि ‘अपेरशन सिन्दूर’ नभइ सैन्य कारबाहीमात्रै रोकिएको बताए।
त्यस्तै उनले अहिलेको यो युद्धको युग नभएको र आतंकवादको युग पनि नभएको बताए।
यो सम्बोधनमा उनले पाकिस्तानलाई मात्रै नभएर विश्वभरिका सबै शक्ति अनि आतंकवादलाई भारतको ‘असली शक्ति’ देखाइदिएको दाबी गरेका छन्।
उनले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पूरै देश, राजनीतिक दलहरू एकजुट भएको भन्दै यस्तै एकताले आतंकवादलाई निमिट्यान्न पार्न सकिने पनि बताए।
आफ्नो सम्बोधनमा उनले पाकिस्तानसँग आतंकवादविरुद्ध अनि उसले नियन्त्रणमा लिएको भनिएको कश्मिरको बारेमा पनि वार्ता हुने पनि प्रस्ट पारे।
त्यस्तै उनले पाकिस्तानले आतंकवाविरुद्ध कदम उठाउने प्रतीज्ञा नगरेसम्म उसका लागि शान्तिको कुनै पनि बिकल्प नभएको पनि चेतावनी दिए।
त्यस्तै उनले आतंकवादको साथसाथ अरु कुनै पनि सम्बन्ध अघि नबढ्नेमा भारतीय प्रस्ट नीति रहेको पनि बताए।
मोदीले सम्बोधन गर्दै गर्दा भारत र पाकिस्तानका उच्च सैन्य अधिकारीहरूले पनि वार्ता गरिरहेका थिए।