प्रदेशको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन सुझाव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चारसम्वद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ।

प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो। निवर्तमान अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सबलीकरण र पत्रकारहरूको पेशागत हकअधिकार सुनिश्चित हुनेगरी नीति तथा कार्यक्रम लक्षित गर्न अनुरोध गरे।

कोभिडपछि नेपाली मिडिया क्षेत्र धारासायी हुने अवस्थामा पुगेको भन्दै सञ्चार संस्थालाई बलियो बनाउने र पत्रकारहरूको पेशागत हकहित रक्षालाई बल पुग्नेगरी कार्यक्रम बनाउन सुझाव दिए। लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को भूमिका बढाउनेगरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन अनुरोध गरिएको छ।

पाेख्रेलले पत्रकारहरूकाे क्षमता अभिवृद्धिका लागि विधागत तालिम तथा प्रशिक्षणका लागि पनि प्रदेश सरकारले पहल लिनुपर्नेमा जाेड दिए। यस्तै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष शुदिप गौतमले १२ जिल्लामा रहेका पत्रकार महासंघको संस्थागत विकासमा समेत प्रदेश सरकारले भूमिका बढाउनेगरी कार्यक्रम बनाउन सुझाव दिए।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार माध्यमको सबलीकरणका लागि नीतिगत रुपमा स्पष्ट भएको, सञ्चार समन्वय परिषद्काे कामलाई प्रभावकारी बनाउन नीतिमा सुधार गर्न थालिएको, सञ्चार माध्यमलाई बलियो बनाउन प्रदेश तहबाट गरिने विज्ञापन वितरणमा एकरुपता गरिने स्पष्ट पारे।

प्रदेश स्थापना भएदेखि नै सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउदै आएको बताए। सुशासन, जवाफदेहीता र पारदर्शीताका लागि सञ्चार क्षेत्र बलियो हुनुपर्ने र त्यसकालागि प्रदेश सरकारले समेत ध्यान दिएको भनाई मुख्यमन्त्री आचार्यको छ।

यस्तै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री आदेशकुमार अग्रवालसंग पनि भेट गर्दै नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयको बारेमा छलफल भएको छ।

प्रकाशित मिति: : 2025-05-04 19:46:00

प्रतिकृया दिनुहोस्