आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। सन् १९९१ तिर नामिबियामा अफ्रिकी पत्रकारहरूको एउटा भेलाले प्रेस स्वतन्त्रताबारे एउटा घोषणापत्र जारी गरेका थिए। त्यसैको सम्झनामा मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइन्छ। त्यसलाई संयुक्त राष्ट्र संघले पनि मान्यता दिएको थियो। र उसकै एक अंग युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवसको अपनत्व लिएको छ।
उसैको आह्वानमा प्रेस स्तन्त्रतासम्बन्धि हरेक वर्ष नयाँ नयाँ नारा र विषयहरू तय हुन्छन्। विश्वभरि खासगरी पत्रकारहरू तथा अभिव्यक्ति स्वतन्त्रताका अभियान्ताहरूले यो दिवस मनाउँछन्।
यसपालि विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘टाइम टु पुट एआई अन द सोसिअल एजेण्डा’ अर्थात् कृत्रिम बौद्धिकता (एआई)लाई कसरी सामाजिक मुद्दाका रुपमा स्थापित गर्ने भने मुख्य मुद्दा हो। आजको डिजिटल युगमा पत्रकारिताको मूल मर्म र भावलाई एआईले कसरी प्रभाव गर्दैछ वा त्यसलाई पत्रकारिताको अंग कसरी बनाउन सकिन्छ भन्ने बहस यो मूल मुद्दाको विषय हो।
नेपालमा सन् १९९५ देखि पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरूले यो दिवसलाई औपचारिकरुपमा मनाउन थालेका हुन्।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवरमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका अध्यक्षहरूलगायत विभिन्न उच्च पदस्थ अधिकारीहरूले शुभकामना सन्देश दिएका छन्।
राष्ट्रपति पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन्।
‘निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ। स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठुलो योगदान गरेको छ’ उनले भनेका छन्।