नीति तथा कार्यक्रमामाथि प्रतिपक्ष ‘नजरिया’ : ‘अल्छी सरकार’, ‘पुरानो खोस्टा’, ‘बासी’ र ‘हावादारी’

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीत तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको संयुक्त बैठकमा पढेर सुनाएका थिए। 

झन्डै ५ हजार शब्दावली रहेको यो नीति तथा कार्यक्रमबारे सांसदहरूले संसद बाहिर निस्केर प्रतिक्रिया दिइरहेका छन्। सत्ता पक्षीय सांसदहरूले नीति तथा कार्यक्रमलाई ‘ठीकै’ भने पनि प्रतिपक्ष दलका सांसदहरूले भने यसको तीखो आलोचना गरेका छन्। 

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन्।

पूर्वअर्थमन्त्री समेत रहेका पुन भन्छन् ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो। विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने हो र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ। त्यस्तो ल्याएको देखिन्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई ‘टोले गुण्डाहरूले हप्ता उठाउन गरिएको सम्झौता’जस्तो भनेर टिप्पणी गरेका छन्। 

उक्त नीति तथा कार्यक्रममाथि विभिन्न पार्टीका सांसदहरूले थरिथरिका टिप्पणी गरेका छन्। यसैक्रममा नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्। 

‘पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिने छ, भनिने छ, सुनिने छ, भन्ने सुगा रटाई जस्तो’ उनले लेखेका छन् ‘न त युवाको रोजगारीको लागि नत देशका लागि आयो। यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरे।

‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो। सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्‍याइएको छ। नयाँ कुरा केही पनि छैन। वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो। अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ। तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ।’

रास्वपाकै सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताएका छन्। 

उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन्।

‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन। केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ। ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन’ उनले भनेका छन्। 

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जीवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन्। 

 ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरुलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो। यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन। जनताको जीवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन। त्यो हुनुमा उहाँहरुको दृष्टिकोणमा समस्या पर्‍यो’ उनले भनेका छन्। 

प्रकाशित मिति: : 2025-05-02 19:29:00

प्रतिकृया दिनुहोस्