राजावादीहरू एकजुट, प्रचण्ड भन्छन्- पार्टी सच्याउन दिनरात खटिरहेको छु (भिडियो समाचार)

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोध सभामा राजावादी हस्तीहरू एउटै मञ्चमा देखिएका छन्।

थापासहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसम्म सहभागी थिए। त्यस्तै केही दिनअघि प्रहरी हिरासतबाट छुटेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा पनि विरोध सभामा उपस्थित थिए।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउ परेको विरोधमा राप्रपा नेपालले सोमबार विरोध सभा आयोजना गरेको थियो।

भिडियो-

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्।

‍राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको बताएका हुन्।

अहिले भ्रष्टाचार, कुशासनले देश आक्रान्त भएको भन्दै देशको अस्मिताको रक्षाका लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन आवश्यक रहेको उनकाे भनाइ थियाे। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सच्याउन आफू दिनरात खटिरहेको बताएका छन्।

बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका हुन्।

आफूले पनि गल्ती गरेकाे महसुस भएकाे र त्यसलाई पनि सच्याउँदै  लैजाने प्रचण्डकाे विश्वास थियाे। 

000

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्।

सोमबार काठमाडौंमा कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेटसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताएका हुन्।

त्यसैगरी सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात नहाल्न गगनकाे सुझाव थियाे। 

000

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताएका हुन्।

आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो। प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा ६२ जना शिक्षक घाइते भएका थिए। 

000

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। 

सोमबार संसदीय उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्। 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले २०८१ असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन-अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो। 

000

सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघरमा अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन्। 

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन्। 

सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भएपनि आफूहरूकाे बचत रकम फिर्ता दिनुपर्ने उनीहरूकाे माग छ। 

000

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। 

पक्राउ परेका सबै भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र करछलीलगायतमा संलग्न रहेको सीआईबीले उल्लेख गरेको छ। 

उनीहरूबाट १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार भएको छ। 

उनीहरूले व्यक्तिगत तथा संस्थागत रुपमा अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्न मनी म्युल परिचालन गरेको सीआईबीले उल्लेख गरेको छ। 

योसँगै सम्बन्धित मनी ट्रान्सफर र त्यसका सञ्चालक समेतका व्यक्तिहरूलाई राष्ट्र बैंक ऐन २०५८ बमोजिम कसुरउपर छानबिन भइरहेको सीआईबीले जनाएकाे छ। 

 000

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर  नियुक्त गरेको छ।

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो।

नयाँ ब्रान्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन्।
 

प्रकाशित मिति: : 2025-04-28 20:53:00

प्रतिकृया दिनुहोस्