सरकारले गति लिन सकेनः गगन, ओली-देउवा भेटवार्ता (भिडियाे समाचार)

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

सरकारको रवैयाप्रति कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाइरहेका बेला ओली-देउवाबीच एकजुट भएर सरकारको कामको प्रभावकारीता बढाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भिडियो- 

000

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषदले आयोजना गरको कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनेपनि अपेक्षाअनुसार काम नभएकाे बताएका हुन्।

देशमा रकेटको गतिमा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्दै सरकारले अपेक्षित गति पकड्न नसकेको उनकाे टिप्पणी थियाे। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गरेको बताएका छन्। 

मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरिएकाे उनकाे भनाइ थियाे। 

000

सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ।

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो। 

000

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई जिम्मेवारी दिएका छन्।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई तीन महिनाका लागि उक्त जिम्मेवारी दिइएकाे छ। 

विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियाे। 

000

नेकपा एमालेका सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत र गैरकानुनी कामहरू गर्दै आएको भन्दै तत्काल कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले ज्ञानेन्द्रको कामलाई ‘कीर्ते, जालसाजी र नक्कली ओहदा धारण’ जस्ता कानुनहरू लगाउँदै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन्। 

000

त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ। 

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो।

अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ।

000

आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।

महासंघले सोमबार विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन भनेको छ।

000 

भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा जिब्रो छेड्ने जात्रा मंगलबार मनाइएको छ।

यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्।

प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ।

प्रकाशित मिति: : 2025-04-15 20:08:00

प्रतिकृया दिनुहोस्