नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ वर्षपछि सरकार परिवर्तन हुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकार बाहिर हुँदा प्रचण्डमा देखिएको कुण्ठा र पीडाबोध मात्र भएको टिप्पणी गरे। उनले अहिलेको सरकार परिवर्तन कतैबाट सम्भव नभएको दाबी गरे।
आइतबार चितवन पुगेका प्रचण्डले नयाँ वर्षसँगै सरकार फेरिने र कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने टिप्पणी गरेका थिए। ज्ञवालीले केही कमीकमजोरीलाई टेकेर कोही व्यवस्था नै पल्टाउन कोसिस गरिरहेका, त कोही सरकार परिवर्तनको ध्यानमा रहेका बताउँदै उनीहरूको प्रयत्न सफल नहुने दाबी गरे।
भिडियो-
०००
नेपाली नयाँबर्ष मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरू यतिबेला इलाममा छन्। परराष्ट्र मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरू यस पटक इलाम पुगेका हुन्।
आइतबार इलामको कन्याम पुगेर सांस्कृतिक पहिरनसहित घोडा सवार गरेका उनीहरू सोमबार अन्तु भ्रमणमा छन्। सोमबार बिहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर गरे।
डुंगा सयरपछि चियाबारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरञ्जन समेत लिएका छन्।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक, २०८१ लाई पारित गराउन सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका छन्। नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानलाई शुभकामना दिँदै ओलीले शिक्षा बजेट बढाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।
यता शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन्। काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरूले नयाँवर्ष पनि सडकबाटै मनाएका छन्। शिक्षक आन्दोलनका कारण वार्षीक परीक्षाको नतिजा पनि सार्वजनिक हुन सकेको छैन। यस्तोमा विद्यार्थी भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ।
०००
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
सोमबार नगरकोट भ्रमण वर्ष २०८२ शुभारम्भ समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति दिँदै नेपाली अर्थतन्त्रमा व्यापक सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ ले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न सबैलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन्।
०००
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो। अर्को खेल नेपालले बुधबार हङकङविरुद्ध खेल्नेछ।