शिक्षकलाई सडकमै छोडेर भर्ना अभियान सुरु, प्रधानमन्त्रीले के भने?

आजदेखि सरकारले विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। तर महिनादिनदेखि सरकारी शिक्षकहरू भने सडक आन्दोलनमा छन्। 

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ सरकारले हरेक वर्ष वैशाख १ गतेदेखि महिनाभरि भर्ना अभियान सुरु गर्छ। 

तर शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारी शिक्षकजति आन्दोलनमा भएका कारण यसपालि यो भर्ना अभियान प्रभावित हुनेछ। लामो समयदेखि शिक्षकहरू आन्दोलनमै रहेपछि सरकारी विद्यालयमा वार्षिक परीक्षाका नतिजासमेत प्रकाशित हुन सकेको छैन।

भर्ना अभियान सुरु भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन्। शुभकामना सन्देशसँगै उनले शिक्षा बजेट बढाउने र शिक्षा ऐन पनि चाँडै पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफल सहित पारित गराउन सरकार प्रतिबद्ध छ’ उनले भनेका छन् ‘शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेछ। यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा रहेको छ।’ 

प्रकाशित मिति: : 2025-04-14 08:00:00

प्रतिकृया दिनुहोस्