तीनकुने घटनाबारे बाेले पूर्वराजा, शिक्षकको माग पूरा गर्नुपर्ने देउवाको भनाइ (भिडियाे समाचार)

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्। 

नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने बताउँदै उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो–नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत बताएका थिए। 

000

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने आधार, प्रमाण र कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।

उक्त प्रतिवेदन प्राप्त भएपछि मात्र सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा आदेश बदर गर्ने भन्ने आदेश दिनेछ।

000

नयाँ गभर्नर नियुक्तिमा उमेरहद हटाएको विषय सर्वोच्च अदालतमा पुगेको छ। 

केही समयअघि सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेरहद रहेकोमा त्यो हटाएपछि अधिवक्ता विशाल थापाले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार अच्युत कुइँकेलले जानकारी दिए। 

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्। 

आइतबार सानेपामा आयोजना गरेकोकार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन्।

शिक्षकहरुको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षरू पनि तयार हुनुपर्ने उनकाे जिकिर थियाे। 

000

पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश 
आतबार राति १२ बजेसम्मका लागि लम्बिएको हो। 

शनिबार हनुमान जयन्तिको अवसरमा आयोजना गरेको शोभायात्राको क्रममा दुई पक्षबीच झडप हुँदा माहाेल तनावग्रस्त भएकाे थियाे। 

000

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ।

गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि महाभियोग लगाएर राष्ट्रपति पदबाट हटाइएका युनविरुद्ध यही अभियोगमा फौजदारी मुद्दा पनि हाल्न लागिएको हो। 

उनी पदमा रहेकै बेला पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन्। दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ।

000

हङकङ टी२०आई सिरिजको फाइनलमा नेपाल कुबेतसँग ३ रनले पराजित भएको छ।

कुबेतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १ सय ७१ रनमा चुकेर पराजित भएकाे हाे। 
 

प्रकाशित मिति: : 2025-04-13 20:07:00

प्रतिकृया दिनुहोस्