ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन्।
बुधबार रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उनले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन्।
सरकार–नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि उनकाे अनुराेध थियाे।
भिडियो-
000
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाएका हुन्।
सरकारले ठीक ढंगले काम गरेको भए अहिले सडकमा आउनुपर्ने अवस्था नहुने बताउँदै चाँडोभन्दा चाँडो शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने उनकाे सुझाव थियाे।
यो पनि-
000
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले ज्यादती गरेको र गम्भीर मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ।
गत शुक्रबार सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार हनन् भएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे हो।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
000
नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन्।
एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन्।
लामो समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा राजनीतिक दलका नेताहरूको केही कमजोरी भएको उनकाे भनाइ थियाे।
000
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन्।
आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो।
सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ।
महासभाको २ सय १४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो।
000
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।
समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गुरुङले राजावादी प्रदर्शनकारीलाई वैशाख २१ गतेसम्म रिहा गर्न अल्टिमेटम दिएका हुन्।
यदि माग पूरा नभए वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनको भनाइ थियाे।
000
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
हिजो साँझ जयगढ बजारमा लागेको आगलागीबाट २७ वटा घर जलेका छन्। ३० घर प्रभावित भएका छन् भने सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ।
000
एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
एडिबीको पछिल्लो प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले गएको आर्थिक वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो।
000
बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन्।
मंगलबार आवामी लिग पार्टीका कार्यकर्तालहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताएकी हुन्।
युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको बताउँदै उनले संवैधानिक तवरबाट अझै पनि आफू प्रधानमन्त्री नै रहेको बताएका थिइन्।
000
हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ।
हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो।
कतारले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्यायाे।
नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ।