जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनेको ओली सरकार असफल भएको दाबी गरेका छन्।
मंगलबार जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस-कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्यवन नभएको बताए।
उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भएपनि पुरा नभएको जिकिर गरे।
उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको बताए। संविधान संशोधन गर्ने नियतमा यो सरकारको गठन नभएको उनको दाबी छ।
उनले भने, ‘आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ। देशमा सुशासनको नाम निशाना नै छैन। भ्रष्टाचार नियन्त्रणको कुरा छोडौं, आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिलै देखेको थिइन्।’
अध्यक्ष यादवले देशको अर्थतन्त्र धरासायी बनेको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको औँल्याए।
जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य गरुडामा सुरु भएको छ। अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आएका हुन्। बुधबारसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ।