सरकार नढल्ने ओलीकाे दाबी, नेपाललाई ‘ग्रे-लिस्ट’बाट निकाल्न गृहकार्य सुरु (भिडियाे समाचार)

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन्। 

मंगलबार मधेस प्रदेससभालाई सम्बोधन गर्दै उनले झन्डै दुई तिहाई बहुमत भएको सरकार आगामी चुनावसम्मै टिक्ने बताएका हुन्। 

देशलाई अलि अप्ठ्यारो परेका हुनाले देशका ठूला, इतिहास बोकेका र योगदान गरेका पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको उनकाे प्रष्टीकरण थियाे।

भिडियो-

000

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ। 

सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हाे। 

नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको थियो।

 000

काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन: आह्वान गरेका छ। 

मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो। 

यसअघि पनि सरकारले वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो। 

000

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन्।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूले गोली नचलाएपनि बालुवाटार घेर्न सक्ने बताएका हुन्। 

आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि उनकाे जिकिर थियाे। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक पटक फुट्नेवित्तिकै कम्युनिस्टहरू फेरि मिल्न सक्दैनन् भन्ने सोचाइ गलत भएको बताएका छन्।

मंगलबार प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले फुट्ने वित्तिकै अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भन्नु मार्क्सवादी सोचाइ नभएको टिप्पणी गरेका हुन्।

उनले वामपन्थीहरू विभाजित भएपनि, कहिलेकाँही एकअर्काको आलोचना गरेपनि एकताको झण्डा भने कहिल्यै नछाडेको दाबी गरेका थिए।

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलनका क्रममा जडीबुटी कम्पनीमा आगो लगाउनेहरू माओवादी कार्यकर्ता रहेको पुष्टि भएको दाबी गरेका छन्।

मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले माओवादीका भिजिलान्तेहरू प्रयोग गरेर राजावादीको आन्दोलन बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन्।

पक्राउ परेकाहरूलाई झुटा मुद्दा लगाएर थुन्न खोजे हजारौं जनताले घर घेर्ने र सरकारमा रहेकाहरूले भाग्न समेत नपाउने उनकाे चेतावनी थियाे। 

000

काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध सभा बिथोल्न खोजेको आरोपमा ४ जना पक्राउ परेका छन्। 

चार जनालाई राप्रपाका स्वयंसेवकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

विरोध सभा भइरहँदा उनीहरूले अवाञ्छित गतिविधि गरेको आरोप छ। 

आफूहरू कुनै पनि दलमा आबद्ध नभएकाे बताउने पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सुरु गरिसकेकाे छ। 

000

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गतन्त्रणसँग रातन्त्रको तुलनानै नहुने बताएका छन्। 

मंगलबार एमाले सुर्खेतको आयोजनामा भएको बृहत जागरणसभा बोल्दै पोखरेलले गणतन्त्र आएपछि मात्रै देशमा विकास भएको बताएका हुन्। 

त्यसैगरी गणतन्त्र आएपछि राजतन्त्रले बर्बाद बनाएको देश अगाडि बढेकाे पनि उनकाे भनाइ थियाे। 

000

नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। 

आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो।

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो। 

उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो।
 

प्रकाशित मिति: : 2025-04-08 20:02:00

प्रतिकृया दिनुहोस्