भैरव रिसाल भन्थेः ‘मृत शरीर ज्यूँदोहरूलाई काम लाग्ने रहेछ’

प्रमिला कार्की

आइतबार राती ९७ वर्षको उमेरमा निधन भएका वरिष्ठ पत्रकार भैरव रिसाल पछिल्लो नेपाली पत्रकारिताप्रति चिन्तित थिए।

केही महिनाअघिको कुराकानीमा क्रममा उनले विगतको तुलनामा हाल पत्रकार र समाचारको महत्व नै खस्किएको सुनाएका थिए।

‘पहिले पत्रकारको धेरै इज्जत थियो। समाचारको धेरै महत्व थियो। अहिले नयाँ पुस्ताका साथीहरूले त्यो इज्जत राखेहुन्थ्यो जस्तो लाग्छ । तर इज्जत राखेको देखिदैन। पार्टी र पत्रकारिता छुट्याउन सकिने अवस्था छैन,’ उनले भनेका थिए, ‘हाम्रो पालामा सानो एउटा समाचार अखबारमा छापिँदा प्रधानमन्त्रीले बोलाएर सोध्ने चलन थियो । त्यसले गर्दा समाजमा पत्रकारिताको मान्यता राम्रो थियो । पत्रकार भनेपछि विश्वास हुन्थ्यो ।’

सम्पादकीय स्वतन्त्रता र सुरक्षित भएन भने पत्रकारिता नरहने जिकिर गर्थे रिसाल।

उनले भनेका थिए, ‘पत्रकारिता स्वतन्त्र हुनैपर्छ । पत्रकार लगानीकर्ताको कन्ट्रोलमा हुनु हुँदैन। पत्रकारको कलमले जे लेख्छ त्यो सर्वसाधरणले हेर्छन्। त्यसैले कलम नियन्त्रित हुनुहुँदैन। पत्रकारितालाई पेसा व्यवसाय भन्दा निष्ठामुखी बनाउनुपर्छ । वास्तवमा पत्रकारिताको ज्यानमा हुनुपर्ने जे थियो, त्यो छैन। ज्यान नभएको लास त कति हो छन। त्यसैले अहिलेको पत्रकारिता मान्छेले पत्याउन छाडे । विश्वसनियता सुरक्षित हुनुपर्ने त्यो छैन। नयाँ पुस्ताको पत्रकारिता दौडधुप गर्ने कम छन र यान्त्रिक पत्रकारितामा बढी क्रियाशील देखिन्छ।’

रिसालले नेपाली राजनीतिलाई पनि तर्कपूर्ण र व्यवहारिक रुपमा तर्क गर्ने गर्ने गर्थिए।

‘राजनीति हराएको राजनीति भयो । राजनीति भएको राजनीति हुनुपर्ने हराएको भएको छ । यसलाई पल्ट्याउनुपर्छ भन्ने मेरो सोच छ । नेताले नेतृत्व राम्रोसँग गरोस र मुलुक बनोस् । जनताले धेरै खोज्ने भनेको बत्ती, पानी, बाटो रहेछ । यसमा सन्तुष्टि हुने रहेछन्,’ उनी भन्थे, ‘इमान्दारितापूर्वक अनुकरणीय काम गर्नुहोस । पैसा नै सबैथोक होइन् । पैसा भन्दा पनि मरेमछि पनि बाँच्ने उत्तम काम गर्न सके राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए । सोही अनुसार रिसालको शव पाटन अस्पताललाई प्रदान गरिएको छ । उनले शरीर दानका विषयमा खुलेर बोलेका पनि थिए । 

‘तिब्बती संस्कृतिमा मान्छे मरेपछि कता फर्केर, के भएर मरेको छ त्यो हेरेर जलाउने की पशुलाई दिने चलन छ । शरीर चराचुङ्गीलाई दिने की, माछालाई दिने भन्ने छ । हामी बुढाबुढी पनि मरेको शरीर जिउँदो मान्छेलाई काम लाग्छ भने किन नदिने भन्ने हिसाबले दान गर्न चाहेको हुँ । तर यहाँ मान्छेहरुलाई मृत शरीर दान लिनको लागि कठिन भइरहेको छ,’ उनले भनेका थिए। 

पत्रकार भैरव रिसाल पत्रकारितामा उत्कृष्ट योगदान पुर्‍याएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवर्द्धन पुरस्कार, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौं साना ठूला पुरस्कारबाट सम्मानित भएका थिए।

उनको जन्म वि.सं. १९८५ सालमा भक्तपुरको गुण्डु गाविसमा भएको थियो। रिसालले त्यहाँबाट तीन किलोमिटर नजिक लुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरेका थिए। निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका थिए ।
 
विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आवद्ध पनि भएका थिए। उनको ‘साधुलाई सूली’, ‘सुशीला भैरव’ जस्ता कृतिहरू प्रकाशित छन्।

प्रकाशित मिति: : 2025-04-07 14:29:00

प्रतिकृया दिनुहोस्