विश्वव्यापी मन्दीको खतरा
केही दिनयता अमेरिकी शेयर बजार निरन्तर खस्किरहेको छ। विश्वका उच्च मूल्याङ्कन हुने कम्पनीका शेयर मूल्य पनि निकै तल पुगेका छन्।
सोमबार बिहान खुल्नेबित्तिकै एशियाका प्रमुख शेयर बजारहरू पनि ओरालो यात्रामा देखिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको न्यूनतम १० प्रतिशत आयातित करको निर्णय लागु भइसकेको छ। दुई दिनपछि उनले घोषणा गरेको उच्च कर नीति पनि लागु हुनेछ।
जस्तो कि चीनले अमेरिका निर्यात गर्ने हरेक वस्तुमा अब न्यूनतम ५४ प्रतिशत कर तिर्नुपर्नेछ। कम्बोडियाले ४९ र भियतनामजस्ता देशले ४६ प्रतिशत निर्यात कर तिर्नुपर्नेछ। त्यसबाहेक एशियाली देशबाट भारतले २६ प्रतिशतभन्दा धेरै करको सामना गर्नेछ। यो अप्रिल ९ देखि कार्यान्वयनमा आउनेछ।
ट्रम्पको यो अन्धाधुन्ध कर घोषणाका कारण विश्वबजारमा मन्दी छाउने चिन्ता गरिएको छ। तर त्यसले कहाँ र कसरी प्रभाव पार्छ भन्ने कुरा आगामी ९ अप्रिलदेखि हुने विश्वब्यापकारको अवस्थाले जनाउनेछ।
अमेरिकाको यो निर्मम कर नीतिपछि विश्वका विभिन्न देशहरूले प्रतिक्रिया दिएका छन्।
चीनले अमेरिकाको यो निर्णयलाई विश्वव्यापी कर नीतिको दुरुपयोग भनेको छ। र विश्वका सबै व्यापार साझेदारहरूलाई अमेरिकाको यो नीतिविरुद्ध एक हुन आह्वान गरेको छ।
विश्वका आम नागरिकलाई अमेरिकाले कसरी करको दुरुपयोग गरिरहेको छ भनेर प्रस्ट्याउनका लागि चीनले एउटा ‘स्थितिपत्र’ सार्वजनिक गरेको छ। करिब एक हजार पृष्ठ लामो यो प्रतिवेदनमा विश्व अशान्ति र अमेरिकाको कर दुरुपयोगबारे चीनको बहुपक्षीय व्यापार प्रणाली कायम राख्ने र आर्थिक विश्वव्यापीकरणलाई प्रवर्द्धन गर्ने बारेमा विश्वलाई कडा सन्देश दिएको छ।
अमेरिका, 'समानता' र 'निष्पक्षता' को पछि लाग्ने आडमा, शून्य-योग खेलमा संलग्न छ भनेर चीनले त्यसको विरोध पनि गरेको छ। र विकास सबै देशहरूको विश्वव्यापी अधिकार हो, केहीको एकाधिकार होइन भनेर पनि चीनले प्रस्ट पारेको छ।
चीनले विश्व व्यापारका साझेदार देशहरूलाई आफ्नो अधिकार र हितको रक्षा गर्न विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रमा अमेरिकी करहरू विरुद्ध मुद्दा दायर गर्ने तयारी गर्न पनि आह्वान गरेको छ।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शेअर बजारको स्थितिबारे टिप्पणी गरेका छन्।
‘म कुनै पनि ब्यापार खस्कियोस् भन्ने चाहन्नँ। तर कुनै कुराहरू ठीक पार्नका लागि कहिलेकाहिँ त्यसलाई औषधिउपचार पनि गर्नुपर्छ। अहिले भएको पनि त्यही हो’ ट्रम्पले यसलाई अमेरिकी अर्थतन्त्रको ब्यापाक उपचारको समय पनि भनेका छन्।
उनले आफ्नो कर घोषणालाई ‘दुनियाको सबैभन्दा सुन्दर चीज’ भनेर ब्याख्या पनि गरेका छन्।
‘चीन, युरोप तथा विश्वका कैयौ देशसँग हाम्रो ब्यापार घाटा छ। यो समस्या समाधानका लागि एकमात्रै उपाय भनेको आयातित कर नै थियो। हामीले त्यो बाटो समाएका छौं र सबैकुरा अब ठीक हुँदै जानेछ’ उनले भनेका छन् ‘विस्तारै अमेरिकामा अर्बौं डलर आउन थाल्नेछ र यहाँका नागरिकको आर्थिक स्थिति अझ बलियो हुनेछ।’