आकांक्षा धामी
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले चैत १५ गते शुक्रबारको राजावादी र गणतन्त्रवादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए।
उनले भने, ‘दुईवटा स्थलहरूमा प्रर्दशन हुँदैछ। जसमा तीनकुने र प्रदर्शनीमार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं। यसको लागि झण्डै ३५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाएको छौं। ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ।’
साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए।
आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ। त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं।’
साथै, नेपाल प्रहरीले २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ। उनले भने, ‘कुनैपनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं।’
यसैगरी उनले प्रायजसो प्रदर्शनका कार्यक्रमहरू माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताए। उनले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरू खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताए।
उनले भने, ‘प्रायजसो प्रदर्शनका हिसाबले बढी फोकस हामी माइतीघरमा गर्छौं। किनभने त्यहाँ बढी प्रदर्शन हुनेगर्छ। अलिकति भृकुटीमण्डपमा हुन्छ। ट्राफिकको पनि डाइर्भसन छ। बाटोमा जाम नहोस् भनेर सजक छौं। बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाईर्भट गर्ने गरेका छौं।’
राजावादीहरूले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन्। यता, चार दलको समाजवादी मोर्चाले पनि भोलि नै काठमाडौंमा बृहद् जनसभाको घोषणा गरिसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गरेका छन्।