२०८४ सम्म प्रधानमन्त्री बन्दिनँ: प्रचण्ड

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार वीरगञ्जमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको स्पष्ट पारेका हुन्।

सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनकाे भनाइ थियाे।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे।

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए। 

प्रकाशित मिति: : 2025-03-21 16:16:00

प्रतिकृया दिनुहोस्