नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको ध्यान जनतामा देखिएको असन्तुष्टि घटाउनेतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन्।
पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने भन्ने हल्ला सुनेको भन्दै सरकारले यस्तो नचाहिने काम गर्न नहुने बताए।
उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेको भन्दै सरकारको ध्यान नचाहिने काममा भन्दा जनताको असन्तुष्टि सम्बोधनमा केन्द्रीत हुनुपर्ने बताए।
उनले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम मात्रै गरौँ नचाहिने काम नगरौँ। अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ। यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो।’
राज्यकोषमा ठूलो दवाब परेकोले राज्यले पूर्वविशिष्टहरूलाई दिनैपर्ने न्युनतम सुरक्षाबाहेक अन्य सुविधा दिन नसक्ने अवस्था रहेको बताए। जसका लागि कानुनै बनाएर सरकारले यस्ता सुविधा रोक्नुपर्ने जिकीर गरे।
उनले भने, ‘अहिले सरकारले- पूर्वविशिष्टलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षा दिन्छु त्यो बाहेक आज राज्यको ढुकुटीमा धेरै ठूलो दबाब परेको छ, त्यसैले चाहेको बेलामा निर्णय गरेर पैसा दिने अभ्यास कानुन बनाएर रोक्छु भन्नुपर्छ। पैसा बाँड्ने होइन रोक्ने कानुन बनाउँछु भन्नुपर्छ सरकारले। माथिदेखि तलसम्म सबै सरकारले त्यही गर्नुपर्छ।’