फागुन २५ गते पोखराको निजी भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे।
वर्तमान व्यवस्थालाई नै चुनौती दिनेगरी भएको राजाको स्वागतलाई गणतन्त्रवादी दलहरू र सरकारले स्वभाविक रुपमा पक्कै लिएका छैनन्।प्रधानमन्त्री, सत्ता साझेदार दलहरू अनि प्रमुख प्रतिपक्षी राजनीतिक दलहरू त अहिले राजा र उनका समर्थकहरूलाई गाली गर्दै हिँड्न थालेका छन्।
सरकार होस् वा सदन, सहर होस् कि गाउँ। चोक चौताराहरूमा समेत ‘राजा आउने’ चर्चा चल्न थालेपछि अब राजनीतिक दलहरू राजा अनि उनका समर्थकहरूका गतिविधिमाथि नियन्त्रण लगाउने प्रयत्न गर्दैछन्।
यो बीचमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानमा निषेधाज्ञा लगाइदिएपछि झन् ‘गणतन्त्रवादी’हरू डराएको भन्ने चर्चा सुरु भएको छ।
राजतन्त्र पक्षधरहरूले चैत महिनामा फेरि विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ। विशेषतः राप्रपाले आयोजना गर्न लागेको कार्यक्रममा सबै राजतन्त्रवादीहरूलाई समेट्ने प्रयास गरिने राप्रपाले जनाएको छ।
तर, पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।
लामो देश भ्रमणबाट घर फर्किएका पूर्वराजा केही समय निर्मल निवासमै आराम गर्ने र त्यसपछि आगामी कार्यक्रमहरू र तयारीबारे सोच्न सक्ने दरबार स्रोत बताउँछ।
राजा माग्ने जुलुसहरूमा ‘घुसपैठ’ बढ्न थालेको र त्यसले ज्ञानेन्द्र शाहमाथि नै आँच आउने देखेर केही समय नागार्जुन मौन रहने स्रोतले बताएको छ।
यता दुवै राप्रपा र दुर्गा प्रसाईंबीच फागुन २५ को कार्यक्रमको जस लिने हानाथाप भइरहेको छ। कार्यक्रम लगत्तै दुर्गा प्रसाईंले आफ्नै निवासमा युट्युबरहरूको सम्मेलन नै गरेर आफूले कार्यक्रमको माहोल बनाएपछि राजेन्द्र लिङदेन र कमल थापा ढोक्सा थाप्न आएको आरोप नै लगाएका थिए।
पूर्व राजा ज्ञानेन्द्रलाई बिमानस्थलमा स्वागत गर्न भनेर दुई राप्रपाको आह्वानमा हजारौं मानिस जम्मा भएका थिए। त्यो कार्यक्रमलाई दुबै राप्रपाले आम नागरिक आफै आएको बताइरहे पनि उनीहरूले औपचारिकरुपमै राजाको स्वागतमा जम्मा हुन आह्वान गरेका थिए।
त्यही जमातमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका केही तस्विरहरू पनि देखिए। त्यो तस्बिरलाई लिएर अहिले सडकदेखि सदन र सरकारसम्मै बहस अनि विवादहरू हुन थालेका छन्।
त्यो तस्बिर लिएर जुलुशमा गएका प्रदीप बिक्रम राणा यतिबेला भारत पुगेका छन्। त्यहाँ पुगेर उनले आदित्यानाथको तस्बिर देखाएका कारण प्रहरीले दुख दिन थालेपछि आफू भारतमा शरण लिन बाध्य भएको पत्रकारहरूलाई भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आदित्यनाथको तस्बिर देखाउने अवस्थासम्म देश पुगिनसकेको प्रतिक्रिया दिएका थिए। राजालाई स्वागत गर्ने त्यो भीडको जस लिनका लागि यतिबेला दुर्गा प्रसाईंदेखि राजावादीहरू लागिपरेका छन्।
दरबारनिकट स्रोतका अनुसार राजाका पक्षमा हुने प्रदर्शनहरूमा ‘घुसपैठ’ बढ्न थालेको र त्यसले राजसंस्थाकै इज्जतमा आँच आउने विश्लेषण ज्ञानेन्द्र आफैले गरेका छन्।
उनको सचिवालयले यस्ता गतिविधिबारे सचेत हुन दुबै राप्रपालाई पनि सचेत पारिसकेको स्रोतको दाबी छ। सरकारले पनि यस्ता घुसपैठ रोक्नका लागि सबै सुरक्षा अंगहरूलाई चनाखो रहन निर्देशन दिइसकेको छ।