पाकिस्तानसँग लडिरहेको ‘बलुचिस्तान लिबरेशन आर्मी’ के हो?

Break n Links
Break n Links

एउटा ‘आतंकवादी संगठन’ले बन्धक बनाएका रेलका सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले दाबी गरेको छ। 

बलुचिस्तान प्रान्तमा त्यहाँको बलुचिस्तान लिबरेशन आर्मीले करिब ३०० भन्दा धेरै यात्रु सवार एउटा रेललाई बन्धक बनाएको थियो। बन्धक यात्रुहरूलाई छुटाउनका लागि सेनाले लगभग ३६ घण्टा अपरेशन चलाएको थियो। पाकिस्तानी सेनका अनुसार अब यो अपरेशन सकिएको छ र सबै जिवित यात्रुहरूको उद्धार गरिएको छ। 

रेल र यात्रु बन्धक बनाएका सबै विद्रोही मारिएको दाबी पनि पाकिस्तानी सेनाले गरेको छ।  मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। 

त्यसको बदलामा उनीहरूले पाकिस्तानी सरकारले गिरफ्तार गरेका आफ्ना सबै विद्रोहीहरूलाई मुक्त गर्नका लागि ४८ घण्टाको समय दिएका थिए। त्योसँगै पाकिस्तानी आर्मीले रेल र यात्रुहरू छुटाउन अपरेशन सुरु गरेको थियो। 

पाकिस्तानी सेनाका अनुसार रेल नियन्त्रणका क्रममा पहिला नै विद्रोहीले २१ जना यात्रुको हत्या गरिसकेका थिए। त्यसपछि ३६ घण्टाको अपरेशनमा त्यहाँका रहेक सबै ३३ जना विद्रोही मारिएको र यात्रुहरूलाई भने केही नभएको पाकिस्तानी सेनाले दाबी गरेको छ। 

‘बलुचिस्तान लिबरेशन आर्मी’ के हो?

सन् १९४७ मा भारत पाकिस्तान विभाजना हुँदा एउटा यस्तो राज्य थियो, जसलाई पाकिस्तानमा सामेल गरियो। त्यो बेलादेखि त्यहाँका नागरिकहरू ‘स्वतन्त्र’ राष्ट्रको माग गर्दै अहिलेसम्म ‘बिद्रोह’ गरिरहेका छन्। त्यो बिद्रोह अब ‘आतंकवाद’ सम्म पुगिसकेको छ। 

त्यो भनेको बबुचिस्तान हो। जसलाई त्यो बेला जबर्जस्ती पाकिस्तानमा सामेल गरिएको त्यहाँका रैथानेहरूको बुझाइ छ। उनीहरू बलुचिस्तानलाई एउटा छुट्टै स्वतन्त्र राष्ट्रका रुपमा चाहन्थे। तर भारत पाकिस्तानको विभाजनसँगै त्यो पाकिस्तानको भागमा पर्‍यो। 

बलुचिस्तानको पाकिस्तानको सबैभन्दा दक्षिणी भेगमा पर्छ। यो भनेको इरान तथा अफगानिस्तानसँगैको अरब सागरको तटीय क्षेत्र हो। यो प्रान्तले पाकिस्तानको कूल भूभागको लगभग ४१ प्रतिशत ओगटेको छ। पाकिस्तानकै सबैभन्दा ठूलो भूभाग भएको यो राज्यमा भने पाकिस्तानको कूल जनसंख्याको लगभग ६ प्रतिशतमात्रै मानिस छन्। पाकिस्तानमा लगभग २४ करोड जनसंख्या छ। 

अहिलेसम्म पनि त्यहाँको रैथाने पुस्ता पाकिस्तानी सरकार र त्यहाँको सेनासँग त्यही स्वतन्त्र बलुचिस्तानका लागि लडिरहेको छ। स्वतन्त्र बलुचिस्तानको माग गरेर विद्रोह गरिरहेका त्यहाँ पृथकतावदी संगठनहरू छन्। तर सबैभन्दा हिंस्रक र बलियो मानिएको संगठन भने बिएलए अर्थात् बलुचिस्तान लिबरेशन आर्मी हो। 

यो संगठन पहिलोपटक १९७० को दशकतिर चर्चामा आएको थियो। पाकिस्तानमा जुल्फिकार अलि भुट्टो नेतृत्वको सरकारविरुद्ध विद्रोह सुरु हुने बेलामा यो संगठन सक्रिय भइसकेको थियो। तर सैन्य तानाशाह जियाउल हकले सत्ता लिएपछि त्यहाँ वार्ता भयो र केही समयका लागि यो लिबरेशन आर्मी भूमिगत रह्यो। 

त्यसपछि फेरि सन् २०००को सुरुवातितर यसले शसस्त्र गतिविधिहरू सक्रिय बनाउन थाल्यो। यो संगठनमा धेरैजसो मैरी तथा बुगती जनजातिका युवाहरू छन्। जो स्वतन्त्र बलुचिस्तानको माग गर्दै पाकिस्तान सरकारसँग लडिरहेका छन्। 

सरदार अकबर खान बुगती बलुचिस्तानका पूर्व मुख्यमन्त्री हुन्। उनलाई बिएलएको सबैभन्दा मुख्य नेता ठानिन्थ्यो। तर पाकिस्तानी सेनाले एउटा अपरेशनका बेला सन् २००६मा उनको हत्या गरिदियो। त्यसपछि बालाच मिरी त्यसको प्रमुख बनाइए। उनी पनि २००७ तिर मारिए।  

अहिले पाकिस्तानमा चीनको धेरै नै लगानी छ। खासगरी बलुचिस्तानमा पनि थुप्रै प्राकृतिक स्रोत र साधन छन्। जसमा त्यहाँका आदिवासीले आफ्नो पहिलो हक भएको ठान्छन्। चीनको लगानी र उसका परियोजनाहरू भित्रिएसँगै पाकिस्तानी सरकारले बलुचिस्तानमाथि निकै दबाब बढाएको उनीहरू ठान्छन्। त्यहाँ कैयौ खानी र खनिजहरूमा चिनियाँ परियोजनाहरू सञ्चालित छन्। पाकिस्तान सरकारले त्यहाँ चिनियाँ परियोजना लागु गर्नका लागि यो संगठनलाई आतंककारी पनि घोषणा गरेको छ। 

त्यहाँका मानिस र यो संगठनले पाकिस्तान र पाकिस्तानी सरकारलाई चीनको गुलाम भएको ठान्छन् र बलुचिस्तानलाई त्यो ‘गुलामी’बाट मुक्त गरेर एउटा स्वतन्त्र राष्ट्र बनाउन चाहन्छन्। 

प्रकाशित मिति: : 2025-03-13 08:12:00

प्रतिकृया दिनुहोस्