प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन्।
मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न थालेकाे भन्दै एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न नसक्ने बताएका हुन्।
अहिले सरकार समाजवादतर्फ उन्मुख भएको उनकाे जिकिर थियाे।
000
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो।
सर्वोच्चको फैसलासँगै तोसिमाको सांसद सांसद पद जोगिएको छ।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँदै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका हुन्।
राजावादीहरू सडक र सदनमा रहेर इतिहासको चक्का पछि फर्काउन लागेको भन्दै उनले असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताएका थिए।
000
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान विपरीत हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनविरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरीत हुने कुनै पनि षडयन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका हुन्।
विभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।
000
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का चार सदस्यहरूको पद यथावत कायम गर्न रिट जारी गरेकाे छ।
मंगलबार न्यायाधीशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले राखेप सदस्य प्रकाशकुमार कुसारीले दायर गरेको मुद्धामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
ओली सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला, जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए।
मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए।
000
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाकै कारण नेपालबाट राजतन्त्र अन्त्य भएको आरोप लगाएका छन्।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले थापा र लिङ्देनले ०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था नजाने ठोकुवा गरेका हुन्।
प्रसाईंले आफूले अहिले राजतन्त्रको पक्षमा माहोल बनाएपछि राप्रपाहरू ढोक्सा थाप्न आइपुगेको दाबी गरेका हुन्।
थापा र लिङदेनको पछि आफू नलाग्ने बरु राजासँगै मिलेर आन्दोलन गर्ने उनकाे भनाइ थियाे।
000
फिलिपिन्सका पूर्वराष्ट्रपति Rodrigo Duterte रोड्रिगो पक्राउ परेका छन्।
उनलाई मानवताविरूद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले मनिलाको विमानस्थलबाट पक्राउ गरेको हो।
उनी पक्राउ परेपछि विमानस्थलमा हंगामा मच्चिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
उनले सन् २०१६ देखि २०२२ सम्म दक्षिण पूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध कारबाही गरेका थिए। जसमा हजारौं मानिस मारिएका थिए।
000
तल्लो बाटोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि अमेरिकी सुरक्षा बलले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
अमेरिकी समय अनुसार गतसाताको मंगलबार राति डुंगा चढेर अमेरिका प्रवेश गर्न लागेका उनीहरूलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले गोली हानेर पक्राउ गरेको हो।
उनीहरू क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दै थिए। सीबीपीले नेपालीसहित नौजना आप्रवासीलाई नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन्। सीबीपीले हालसम्म पक्राउ पर्नेको परिचय भने खुलाएको छैन।
000
पवन सर्राफको ब्याटिङ र रुपेश सिंहको सानदार बलिङसँगै मधेश प्रदेशले प्रधानमन्त्री कपमा सुखद् सुरुवात गरेको छ।
मंगलबार सम्पन्न खेलमा मधेशले कोशी प्रदेशलाई १ सय ६५ रनले हराएको हो।
जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो। यसअघि लुम्बिनी प्रदेशले कोशीलाई २६ रनले पराजित गरेको थियो।
मधेशले दिएको २ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनायो।