श्रम मन्त्रालय घुसको अड्डा बनेको पुर्वश्रममन्त्रीको दाबी, राजाले देश बचाउन सक्दैनन् (भिडिओ समाचार)

काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ।

000

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन्। 

शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले दुई ठुला पार्टी मिलेर बनेकाे सरकार ८४ सालसम्म जाने दाबी गरेका हुन्। 

राजावादीहरूको आन्दोलनप्रति सङ्केत गर्दै प्रधानमन्त्री ओलीले होहल्लाका भरमा सत्ता कब्जा हुन नसक्ने बताएका थिए। 

000

राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।  

तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो।

000

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाले देश बचाउन नसक्ने बताएका छन्। 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन्। 

आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले देशको रक्षा कसरी गर्नसक्छ भन्दै उनले राजावादी दलहरूलाई समेत प्रश्न गरेका थिए। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन्। 

सर्लाहीको ब्रहम्पुरीमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले कार्यसम्पादन मूल्याङ्कनमा फेल भएका  ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका हुन्। 

शिक्षकलाई अपमानित हुने गरी बोल्ने प्रधानमन्त्री फेल भइसकेकाे उनकाे टिप्पणी थियाे।  

000

रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताहाचलस्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन्। 

मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएको उनको भनाइ थियो।

000

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका छन्।

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रचण्डले नातिनीको लागि अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका हुन्।

आफूले २० वर्षसम्म प्रचण्डलाई सहयाेग नगरेकाे भए विदेशमा घर किन्न र प्रधानमन्त्री बन्न नसक्ने उनकाे दाबी थियाे।

000

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ। 

आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठन हुनुपर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो। 

सङ्क्रमणकालीन न्यायमा कायम रहेको अन्यौलताको अन्त्य गर्न आवश्यक पहल गरिदिन पीडित तथा सरोकारवालाहरूबाट आयोगसमक्ष अनुरोध भएअनुसार पत्राचार भएको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

000

युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार पाउने पाँच बजे हुनेछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो।

उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ।

प्रकाशित मिति: : 2025-03-07 20:00:00

प्रतिकृया दिनुहोस्