मोरङको विराटनगर महानगरपालिका-३ एमाले वडा समितिका १८ जनाले सामुहिक राजीनामा दिएका छन्।
मानगढ खानेपानी आयोजनाको निर्वाचनमा महानगर कमिटिको हस्तक्षेप भएको भन्दै सुरु भएको विवाद उत्कर्षमा पुगेपछि वडा समितिका सदस्यहरूले सामुहिक राजनीनामा दिएका हुन्।
‘पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं.वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरू समेत राखिएको पाइयो जुन अत्यन्तै दुःखद हो,’ राजीनामा पत्रमा उल्लेख भनिएको छ, ‘सामूहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामूहिक रूपमा राजीनामा पेश गर्दछौँ ।’
राजीनामा दिनेहरूमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उप-सचिव कुशुला काफ्ले निरौला, सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, अनोज गौतम (अनुज) र उषा सिवाकोटी छन्।
गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति एमाले महानगर कमिटिमा चर्को असन्तुष्टि बढेको थियो। खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपालसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो।
अध्यक्षमाथि कारबाही भएपछि उपाध्यक्ष वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए।