नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन्।
उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताए.
उनले भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ। आजको समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन। हामी सबैले बुझाउन आवश्यक छ। स्वस्थानीको ‘स्व’भनेको ‘म, मेरो’ र थानी भने ‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ। नेपालीहरुको इष्टदेवता भनेको स्वस्थानी हो।’
यसैगरी स्वस्थानी व्रत नेपालमा मात्रै हुने गरेको उनी बताउँछन्। ‘स्वस्थानी व्रत आफ्नो स्थानीय देवता भएकाले नेपालीको लागि धेरै नै महत्वपूर्ण व्रत भएको बताए। यो व्रत पौष शुक्लपक्ष पुर्णिमाको दिनबाट यसको तीथि निर्धारण हुन्छ। पुर्णिमाको दिन शुद्ध बसेर, नङ काटेर, नुवाइधुवाई गरेर माघ कृष्णपक्षको प्रतिपदाबाट व्रत शुभारम्भ गर्ने गरिन्छ। र माघ शुक्ल पक्षको पूर्णिमाको दिन स्वस्थानी व्रत समापन हुन्छ,’ उनले भने।
यसैगरी उनले स्वस्थानी व्रतमा पूजा गर्ने बिधी सबैभन्दा सहज रहेको बताए। उनले स्वस्थानी व्रत एक जनाले बालुवाको शिव लिङ्ग बनाएर जल चढाएर पूजा गरेको इतिहासमा रहेको बताए।
उनले भने, ‘हामी पूजा गर्ने भन्छौं तर तडकभडकका साथ गरिरहेको हुन्छौं। सबै देखावटी गर्नु हुँदैन। पूजा भनेको मन र परमआत्माको संयोग गराउने एउटा माध्यम हो। तपस्या गरेर व्रत गर्यो भने भगवानले दृष्टि राख्नुहुन्छ। पूजा भनेको भगवान र भक्तको सामिप्यता बढाउने, एकआपसमा ध्यान केन्द्रित गराउने माध्यम मात्र पूजा हो। पूजामा धेरै खर्च गरेर खर्चिलो र देखावटी नबनाऔं।’
साथै उनले स्वस्थानी पूजा सबैभन्दा सरल रहेको स्पष्ट पारे। उनले स्वस्थानी व्रतमा शिव लिङ्गमा जल चढाएर, खेतबारीमा फलेको फलफूल र चन्दन अर्थात जे छ हामीसँग त्यसलाई नै प्रयोग गरेर व्रतमा पूजा गर्न सकिने बताए।
उनले भने, ‘मन कत्तिको शुद्धता छ भन्ने कुरा सबैभन्दा ठूलो हो। स्नान गरेर आफू चोखो भएँ भन्ने हुँदैन्। तर मन चोखो र शुद्ध आशनमा बसेर व्रत शुभारम्भ गर्न सकिन्छ।’
‘व्रत ३० दिनको हो। कहिलेकाँही घटबढ भयो भने २९ र ३१ दिनसम्म पनि जान सक्छ। यो व्रत महिला–पुरुषले नै बस्न मिल्छ,’ उनले भने।
‘महिला र पुरुषको व्रतमा पूजा गर्ने विधि पनि एउटै हुन्छ। इतिहासको कालखण्डमा एकजना महिलालाई पात्र बनाएर कथा भनिएको छ। जसमा चन्द्रवतिको नाम कथामा समेटिएको छ। पूजा सबैले गर्दा हुन्छ। इष्ट देवता हामी सबैको हो। यसैगरी स्वस्थानी व्रतको सुरुवात र अन्तिममा पनि चाहिने सामग्री सबै एउटै हुन्छ। पञ्चामृत, अमृत, फलफूल आदि इत्यादि। अन्तिम दिन १०८ सेल, १०८ सुपारी, १०८ पान, १०८ अक्षता फूल स्वस्थानी व्रतको विधिमा चाहिन्छ,’ उनले भने।
‘सेल पनि साना–साना बनाएर, गरिब दुःखीले धेरै गर्न नसक्ला नि त। ठूलो देखाउने हिसाबमा होइन। सानो सानो भएपनि विधि गरेको राम्रो नै हुन्छ,’ उनले अगाडि भने,‘नुहाएर मात्र शुद्धता हुने होइन, मनको शुद्धता हुनुपर्छ। मनको मैलालाई पखाल्न सक्नुपर्यो। व्रत बस्ने व्यक्तिले रिस गर्नु हुदैँन्, रिसाउनु हुदैँन्। क्रोध आयो भने त्यो व्रत नै समापन हुन्छ। सबैसँग सद्भाव राख्नुपर्छ। शत्रुलाई पनि मित्र हो भन्ने भावना राख्नुपर्छ र प्रसन्न आत्मा, प्रसन्न मन लिएर व्रत बस्नुपर्छ।’
नेपालमा स्वस्थानी व्रत महत्व धेरै रहेको उनले बताए। ‘नेपालमा यसको महत्व अझ बढी छ। पहिलो देखिनै स्वस्थानीको भूमि नेपाल भएकाले यहाँ बम्ह, शिव, त्यसपछि चार वेद, १८ पुराणको उत्पत्ति भयो। अनि मावन सभ्यताको उत्पत्ति भयो। ज्ञानको उत्पत्ति यहीबाट भयो। वेद पुराण नै यहीबाट उत्पत्ति भएको हो।
त्यसकारण हिमालयकी पुत्रि सति र पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर प्रार्थना गरेको पाइन्छ। कथा एकदमै पुरानो भएकाले त्यसबेलादेखि इष्ट देवता मानेर नेपालीले स्वस्थानी व्रतको आरम्भ गरेको देखिन्छ। किनभने व्रत कथामा इतिहास र सृष्टिका कुरा पनि आएका छन्। सृष्टि गर्ने क्रममा हिमालयबाट सुरु भएको र विश्व ब्रम्हण्डमा फैलाएको भनेर जानकारी गराउनका लागि सृष्टिको कालखण्डको पनि कुरा गरिएको उनले जानकारी दिए।
व्रतमा शालिनदीको कथा आउँछ। नेपाल वरिपरिको कथा आउँछ। स्वस्थानी व्रत कथामा नेपालबाहेक अरु कतैको कथा छैन्। त्यसकारण यसलाई पौराणिक र एतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था नभएको न्यौपानेको भनाइ छ।
‘यो व्रतमा भोको बस्नु पर्दैन्। संसारमा कतै पनि भोकै बस भनेको छैन्। नखाने कुरा कहिले पनि खानु हुँदैन। शरीरलाई असर गर्ने कुरा खानु हुँदैन्। स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुरा कहिल्यैपनि खानु हुँदैन। फलफूल, दूधहरु कहिले पनि खान छोड्नु हुँदैन,’ उनको भनाइ छ।
व्रत बस्नेले भोजन एकपटक मात्र गरेको राम्रो हुन्छ। किनकी ध्यान नछुटोस् भनेर हो धेरै खाएपछि शौचालय पनि धेरै जानुपर्ने भएकाले ध्यान भंग हुने भएकाले यस्तो भनिएको उनको बुझाइ छ।
हिन्दु धर्ममा भएका धार्मिक कुराहरुले फाइदा गर्ने गरेको उनको बुझाइ छ। ‘जति पनि हाम्रा धार्मिक कुराहरु छन्। त्यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ प्राप्त भएको हुन्छ। त्यो अनुभव गर्ने कुरा हो। एक महिनाभर नराम्रो विचार आएन्, नराम्रो खाएको छैन् भने म आफैं सकरात्मकतातर्फ जान्छ । व्रत बस्ने व्यक्तिले झुठ बोल्दैँन्, चोरी गर्दैन्, समाजमा गर्न हुने राम्रा कुराहरु मात्र उसले सोच राख्छ भने समाज सुधार हुन्छ। व्रतले शारीरिक र मानसिक रुपमा स्वस्थ्य राख्न मद्दत गर्छ,’ न्यौपानेले भने।
‘स्वस्थानी व्रत बसेका बेला परिवा र समाज विगार्ने सोचियो भने असर गर्छ। बिशेषगरी ब्रह्मचार्यमा रहनुपर्छ। ब्रह्मचार्य भनेको शारीरिक सम्पर्क गर्न हुँदैन्। अरुलाई अर्थात व्रत नलिने मान्छेलाई स्पर्श पनि गर्न हुँदैन्। भुईँमा सुत्नुपर्छ। खाटमा सुत्न हुँदैन्। आसनीमा सुत्नुपर्छ। पातमा भोजन गर्नुपर्ने हुन्छ। खानेकुरमा एकदमै शुद्धता चाहिन्छ। त्यो भन्दा बढी मनको शुद्धता झनै चाहिन्छ। चारतिर दिमाग लगायो भने व्रत असफल हुन्छ,’ उनको सुझाव छ।
स्वस्थानीको पुस्तकको सन्देश आफ्नो स्थानीय देवतालाई खुसी पार्ने नै भएको उनले बताए। अहिलेको पुस्ताहरु कतिपय सनातनी नियममा नबस्ने, आफ्नो धर्म छाडेर आफ्नो आमा बाउलाई ढोग्न छाडेर अन्त्य ढेग्न पुग्नु नराम्रो भएको उनले बताए।
‘आफ्नो इष्ट देवता भनेकै स्वस्थानी र परमेश्वर हुन्। त्यहाँभन्दा माथि अरु कोही पनि छैन्। त्यो भन्दा माथि संसारमा अरु कुनै ईश्वर छैन्। स्वस्थानी परमेश्वरी व्रत कथा र आफुले लिन सकिएन भने पनि स्वस्थानी व्रत लिएको मान्छेको दर्शन गरेपनि पुण्य प्राप्त हुन्छ प्रचलन छ।
मेला रमिताको हिसाबले गएर हुने केही होइन्। तर वास्तविक श्रद्धाभावले एक दिनमा व्रत बसेपनि पुण्य प्राप्त हुन्छ,’ उनले भने। स्वस्थानीको व्रत बस्न सबैले मिल्ने उनले बताए। भगवान भनेको हिन्दुको मात्र होइन्। हिन्दु शब्द पहिचान मात्र भएको उनको भनाइ छ।