नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि लगातार पराकम्प गएका छन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार भूकम्पपछि आधा दर्जन पटक पराकम्प गइसकेका छन्। चीन–नेपाल सीमा नजिकको लुबुचे क्षेत्र सोही वडामा पर्छ।
चीनको भूकम्प मापन केन्द्र चाइना अर्थक्वेक नेटवर्कका अनुसार मंगलबार बिहानै ६ः५१ बजे गएको भूकम्पको धक्का ६।८ म्याग्निच्युडको मापन गरिएको छ।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माका अनुसार जिल्लामा क्षतिको कुनै विवरण छैन। भन्छन् ‘अहिलेसम्म क्षतिको विवरण छैन। माथिल्लो बेल्टमा प्रहरी परिचालन गरिएको छ। जिल्लामा पनि प्रहरी तयारी अवस्थामा छन्।’
वडाध्यक्ष अधिकारीका अनुसार त्यस क्षेत्रमा पनि क्षतिको विवरण छैन। भन्छन्, ‘क्षतिको विवरण छैन। म गाउँ मै छु। बुझिरहेको छु।’
भूकम्पको धक्का काठमाडौंसहित देशका पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।
भूकम्पको धक्का भारतको सिक्किममा समेत महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।