पुननिर्माण कार्यले तीव्रता पाउँछ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मूल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन्।

‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मूल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निमाणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने।

विपद क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड केही समयअघि पारित भइसकेको छ। सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं। आगामी माग तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने।

उक्त निर्णय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ। गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक बस्दैछ।

आजको परिषद बैठकले निर्णय गरिसकेपछि पुनर्निमाणको कामले तीव्रता पाउने उनको भनाइ छ।

प्रकाशित मिति: : 2025-01-05 15:11:00

प्रतिकृया दिनुहोस्