नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य शान्तकुमार वलीले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलसहित नेत्रीद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सेनाविरुद्धको कारबाही गलत भएको बताएका छन्।
उपाध्यक्ष विष्णु पौडेलनिकट मानिएका उनले नेतृत्वको आलोचना गर्दा केही नेतलाई कारबाहीको डन्डा चलाएपनि ‘कालोलाई कालो, गोरोलाई गोरो भन्न नछोड्ने’ बताएका छन्।
दशवर्षे सशस्त्र द्वन्द्वताका आफ्नो जिउधनको प्रवाह नगरी माओवादीको आधार इलाका रोल्पामा एमालेको संगठन विस्तार गरेका वली कुनैबेला तत्कालीन महासचिव माधवकुमार नेपाललाई चुनौती दिन्थे। र, प्रधानमन्त्रीसमेत रहेका हालका अध्यक्ष केपी शर्मा ओलीको त्योबेलाको ‘इतर समूह’का राप्ती क्षेत्रका भरपर्दा सारथि मानिन्थे।
उनले पार्टीमा दासी बनेर नबस्नेसमेत ठोकुवा गरेका छन्।
बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको कार्यशैलीको विरोध वा आलोचना गरेपछि पूर्वउपाध्यक्ष रावललाई पार्टीबाट निष्काशन गरेको छ भने दुई नेत्रीलाई ६ महिनाका लागि निलम्बन गरेको छ।
अध्यक्ष ओलीको निर्देशन, महासचिव शंकर पोखरेल प्रस्ताव र उपमहासचिव विष्णु रिमालको डिजाइन गरिएको कारबाहीले एमालेको तल्लो तहसम्मै खैलाबैला मच्चाएको छ।
कतिपय एमाले केन्द्रीय सदस्यहरूले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीका कारण इमान्दार नेता–कार्यकर्ताहरूलाई तर्साउनका लागि कारबाही गरेको जिकिर गरेका छन्।
नेकपा (एमाले), रोल्पा पूर्वअध्यक्षसमेत रहेका वलीले भनेका छन्, ‘नखाउँ भने दिनभरिको शिकार खाउँ त कान्छा बाबुको अनुहार अर्थात् माने मान नमाने कान वा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर, कालोलाई कालो गोरोलाई गोरो भन्न छोडिँदैन बसिँदैन दासी बनेर।’