चार वर्षअघि बिएल नेपाली सेवासँग उनले भनेकी थिइन्, ‘जीवनमा गर्नुपर्ने काम अझै धेरै बाँकी छन्…।’
सयौँ महिलाको सहारा बनेकी उनै सुनिता दनुवार आइतबार राति सदाका लागि अस्ताएकी छिन्। मुम्बईको कोठीमा बेचिएको कलिलो ज्यान लिएर फर्केकी उनी राज्य, समाज अनि कैयौँ महिलाका लागि लड्दालड्दै कहिल्यै नउठ्नेगरी ढलिन्।
कोठीमा बिताएका पाँच महिना उनलाई पाँच जुनीजत्तिकै लामो लागे। भारत सरकारले उद्धार गरेपछि उनी कोठीबाट त बाहिरिइन् तर यो राज्य अनि यो समाजले उनीहरूको अनुहार हेर्नै मानेन। कलिलो ज्यान छिनाझम्टी गर्ने ‘पुरुष’हरूसँग लड्दालड्दा थाकेकी सुनिताहरूलाई फेरि यही समाज अनि राज्यसँग लामो लडाईं लड्नुपर्यो।
नेपाल फर्किएपछि सुनिताहरूले कैयौँ भनाइ खाए। ‘एड्स’को पोका भनेर सडक छेउका मान्छेले जिस्काउँदा उनीहरूको मन कति पोल्थ्यो होला?
र, पनि सुनिताले हार मानिनन्। बरु आफैसँग लडिन्। समाजसँग लड्ने निधो गरिन्। आफूजस्तै बेचिएका सयौँको उद्धार गरिन्। धेरैलाई जिन्दगीको नयाँ बाटो देखाइदिइन्।
समाजमा हेपिएका, हिंसाले किचिएका, आफन्त अनि दलालको फन्दामा परेर बेचिएका महिलाहरूलाई उद्धार गर्दागर्दै उनले स्थापना गरेको ‘शक्ति समूह’ साँच्चिकै आम महिलाका लागि एउटा दरिलो शक्ति बन्यो।
आफ्ना सारा निजी सपनाहरूलाई आम महिला जीवनका लागि समर्पित गरेकी सुनिता देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय समुदायका लागि समेत आइडल बनिन्।
उनले ४ वटा त अन्तर्राष्ट्रिय अवार्ड नै जितिसकेकी छिन्। उनी सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा फर्च्यून म्यागेजिन को ‘हिरो’ अवार्डबाट सम्मानित भएकी थिइन्।
हार्दिक श्रद्धाञ्जली प्रिय सुनिता!