सिनेमा चलेकाे छ, सिनेमा घरकाे अवस्था कस्ताे छ?

Break n Links
Break n Links

नेपाली सिने जगतमा शुभ समाचार सञ्चार भइरहेकाे छ। एकपछि अर्काे नेपाली सिनेमाले बजार तताइरहेकाे अवस्था छ। २०७६/०७७ सालकाे काेराेना महामारीमा निकै नै प्रभावित बनेकाे सिने क्षेत्र त्यसपछि तंग्रिन निकै समय लाग्याे। 

अहिले भने एकपछि अर्काे नेपाली सिनेमाले सिनेमा घरहरूमा दर्शक तानिरहेका छन्। जसमा पछिल्लाे सिनेमा पूर्णबहादुरकाे सार‌ंगी हाे। जुन अहिले पनि सिनेमा घरहरूमा प्रदर्शन भइरहेकाे छ। केही सिनेमा घरमा यस फिल्मले ५१ दिन मनाइसकेकाे छ। 

यसअघि गाउँ आएकाे बाटाे, छक्कापञ्जा ५ देखि घरज्वाइँ, बाेक्सीकाे घर, महाजात्रालगायतले सिनेमाहरू चर्चामा रहे।  

सिनेमा घरहरूमा एकपछि अर्काे सिनेमा त चलिरहेकाे छ। तर सिनेमा घरकाे अवस्था कस्ताे छ? चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जन भन्छन्– ‘पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेकाे छ।’

नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको उनले बताए।

तर अझै काेराेना महामारीलगायत कारणले बन्द हुन पुगेका २०० बढी सिनेमा घरहरू भने सञ्चालन हुन सकेका छैनन्। 

अध्यक्ष महर्जनले लगभग पहिलेको तथ्यांक अनुसार ४ सय ५० सिनेमा घरहरू सञ्चानमा रहेका भए पनि अहिले आएर १६०–६५ वटा मात्र सिनेमा घरहरू सञ्चालनमा रहेको बताए।

उनले २८० वटा हलहरु बन्द अवस्थामा रहेको जानकारी  गराए। 

तस्बिर: अध्यक्ष नरेन्द्र महर्जन

उनकाअनुसार सुदूरपश्चिममा एक वटा, कर्णाली प्रदेशमा पनि मात्र एकवाटा सिनेमा घर सञ्चालनमा रहेकाे छ। बागमती प्रदेशमा ८१ वटा सिनेमा घरहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा सिनेमा घरहरू बन्द छन्।

यसैगरी गण्डकी प्रदेशमा ३१ वटा र लुम्बिनी प्रदेशमा ४९ वटा सिनेमा घरहरू बन्द रहेको अवस्था छ। अध्यक्ष महर्जनले सरकारले थोरै मात्र संख्या बढाउन सहजीकरण गर्यो भने फिल्म क्षेत्रअझै अगाडि बढ्ने बताए।

काठमाडौँकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गंगा हल, गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन्।

अहिले पनि सिनेमा घरहरू सञ्चालनका लागि राज्यकाे नीति सहज नरहेकाे उनकाे भनाइ छ। 

हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए।

‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याजलगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, महर्जनले भने, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन्।’ 

आंकाक्षा धामी/नेपाल न्यूज बैंक

प्रकाशित मिति: : 2024-12-19 18:35:00

प्रतिकृया दिनुहोस्