शुक्रबार बिहानदेखि समाजिक सञ्जाल चलाइरहनु भएको छ भने तपाईंको मोबाइलमा आश्चार्य पार्ने मुगुकी एक महिलाले ६ बच्चालाई जन्म दिएको खबर आइराखेको छ होला।
विशेष गरेर मेटाको फेसबुकका लाखौँ फलोअर्स भएका ग्रुपमा एक महिला अस्पतालको बेडमा सुतिरहेको र छेउमा ६ बच्चाहरु भएको तस्बिर भाइरल भइरहेको छ।
उक्त तस्बिर मुगुकी एक महिलाको भनिएको छ र जुन तस्बिर धेरै फेसबुक प्रयोगकर्ताले शेयर गर्दै बधाइ दिइरहेका छन्।
तर धेरैले शेयर गरेको उक्त तस्बिर मुगुको कुन ठाउँ हो खुलाइएको छैन। ती महिला को हुन् भन्ने पनि कुनै जानकारी गराइएको छैन।
मात्र सबैको फेसबुकमा भनिएको छ- 'कर्णालीको मुगुकी एक महिलाले छ वटा बच्चालाई जन्म दिएकी छिन्।'
यस्तो आश्चार्य पार्ने विषय आधिकारीक रुपमा कुनै सरकारी निकायबाट बाहिर आएकाे छैन। आधिकारीक रुपमा कुनै पनि मिडियामा पनि समाचार प्रकाशित छैन।
जसले गर्दा पनि साक्षर सामाजिक प्रयोगकर्ताले त उक्त पाेष्टमाथि अविश्वास गर्दै आफ्नाे धाराना राखिरहेका छन्। सामाजिक सञ्जालमा शेयर भएको उक्त पोष्टमा गलत भन्दै कमेन्टहरु आइरहेका छन्।
तर सामाजिक सञ्जालमा जे आयो त्यही पत्याउने अधिकांश प्रयोगकर्ताले भने उक्त तस्बिरलाई पत्याएर बधाइ मात्र दिइरहेका छैनन्, आफ्नो सामाजिक सञ्जालमासमेत शेयर गरेका छन्।
यसले धेरै सामाजिक सञ्जाल प्रयाेगकर्तालाई भ्रमित बनाएकाे छ भन्ने हामीलाई लागेकाे छ।
तथ्य के हाे?
बिएल नेपाली सेवाले यस तस्बिरका विषयमा जानकारी लिएकाे छ। विशेष गरेर मुगुकाे हाे वा हाेइन भन्नेमा मुगुको स्वास्थ्य कार्यालयका प्रमुख डा. निर्मल नगरकोटीसँग हामीले बुझेका छाैँ।
उनी उक्त तस्बिर फेक रहेको बताउँछन्। नगरकाेटीले सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि मुगुका विभिन्न निकायमा बुझेकाे र कहीँकतै पनि एक महिलाले ६ बच्चाको जन्म दिएको थाहा नपाएको जानकारी गराए।
तस्बिर कहाँकाे हाे? याे विषय भने खुल्न सकेन। विश्वमै एक महिलाले ६ बच्चालाई जन्म दिनु दुर्लभ मानिन्छ। याे तस्बिर कहाँकाे भन्नेमा प्रष्ट हुन नसके पनि हामी यस तस्बिर नेपालकाे हाेइन भन्नेमा प्रष्ट छाैँ।
भेरिभाइ गर्दा उक्त तस्बिर एक युट्युव च्यानलमा भटियो। रानालर नामकाे उक्त युट्युव च्यानलमा छाेटाे भिडियाे राखिएकाे छ। त्यही भिडियाेकाे तस्बिर अहिले नेपालकाे हाे भनेर भाइरल बनाइएकाे प्रष्ट भएकाे छ।
रानालर नाममा भएकाे भिडियाे पनि बास्तबिक हाे वा हाेइन भन्नेमा पनि शंका छ।
विश्वमा एक महिलाले ९ जनासम्म बच्चा जन्म दिएकाे घटना भए पनि नेपालमा भने एकै पटक ४ बच्चा भन्दा बढी जन्म दिएकाे पाइएकाे छैन।