विपिनको चर्चा भने बेग्लै
नेपाल प्रिमियर लिग (एनपिएल)मा समूह चरणका २८ मध्ये २१ प्रतियोगिता सम्पन्न भएका छन्। समूह चरणका खेलहरू अन्तिम चरणमा पुग्दासम्म भने सहभागी अधिकांश टोलीहरूले स्थानीय खेलाडीलाई खासै महत्व दिएको पाइँदैन।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सहभागी सबै टोलीलाई आफ्नो टोलीमा अनिवार्य एक जना स्थानीय खेलाडी समावेश गर्न भनेको थियो। सोहीअनुसार सहभागी ८वटै टोलीले स्थानीय क्षेत्रमा पुगेर ‘ट्यालेन्ट हन्ट’ गरी ‘आइकोनि प्लेयर’ छनोट गरेका थिए।
तर, विभिन्न चरण पूरा गरेर ‘आइकोनिक प्लेयर’ बनेका अधिकांश खेलाडीले मैदानमा पानी बोक्नेबाहेक अन्य कुनै अवसर पाएका छैनन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले ‘ट्यालेन्ट हन्ट’मार्फत कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलियालाई ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो। यद्यपि, विराटनगरले ५ वटा खेल खेल्दासम्म पनि यीमध्ये कुनै पनि खेलाडीलाई मैदानमा उतारेको छैन।
आशिफ शेख मार्की खेलाडी र अनिल साह कप्तान रहेको जनकपुर बोल्टसले पनि ‘ट्यालेन्ट हन्ट’मार्फत ओमकर यादव, विशाल सुस्लिन, सिमोन रोय, नवीन यादवलाई ‘आइकोनिक’ खेलाडीको रुपमा छनोट गरेको थियो।
स्थानीय खेलाडीलाई महत्व दिने र स्थानीय खेलाडीको बलमा एनपिएलको उपाधि चुम्ने दाबी गरेको जनकपुरले पनि ‘आइकोनिक’ खेलाडीलाई ब्याट-बल थमाएको छैन।
त्यस्तै कुशल मल्लले कप्तानी गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई बेवास्ता गरेको छ। चितवनले भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरेर सलाहुददिन खानलाई ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो। तर, खानले पनि चितवनका ५ खेल सकिँदासम्म मैदानमा पाइला टेक्न पाएका छैनन्।
करण केसी कप्तान रहेको काठमाडौँ गुर्खाजले बालुवाटारमा ठुलो तामझामका साथ ‘ट्यालेन्ट हन्ट’को आयोजना गरेर नुवाकोटका क्रिस कार्कीलाई ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो। तर, आफ्ना ५ वटा खेल सकिँदासम्म काठमाडौँले पनि क्रिसलाई मैदानमा उभ्याउने जाँगर गर्न सकेको छैन।
कुशल भुर्तेल कप्तान रहेको पोखरा एभेन्जर्स र राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पनि आफ्नो मात्र एक खेल बाँकी रहँदासम्म स्थानीय खेलाडीलाई मौका दिएको छैन। ‘आइकोनिक प्लेयर’को रुपमा पोखराले सुदीप अर्याल र लुम्बिनीले आरिफ खानलाई छनोट गरेको थिए।
भाग्यमानी विपिन
अन्य ६ टोलीका ‘आइकोनिक प्लेयर’ले मैदान प्रवेशको अवसरसमेत नपाउँदा १६ वर्षीय विपिनप्रसाद शर्मा भने भाग्यमानी सावित भएका छन्।
सोमपाल कामी कप्तान रहेको कर्णाली याक्सले सुर्खेतमा ‘ट्यालेन्ट हन्ट’ गरी ‘आइकोनिक प्लेयर’को रुपमा टोलीमा समावेश गरेका बलर विपिन एनपिएलका एक मात्रै भाग्यमानी स्थानीय खेलाडी हुन्। जसले कर्णालीको तर्फबाट हालसम्मका पाँचमध्ये ४ खेल खेल्ने मौका पाएका छन्। विपिनले खेल्ने मौका मात्रै पाएका छैनन, मैदानमा जादूमयी प्रदर्शन पनि गरिरहेका छन्।
कर्णालीले आफ्नो पहिलो खेलमा विपिनलाई प्लेइङ– ११ मा राखेन। तर, त्यस पछाडिका सबै खेलमा कर्णालीले विपिनलाई मैदानमा उतार्दै आइरहेको छ।
विपिन कर्णालीको दोस्रो खेलमा काठमाडौँ गुर्खाजविरुद्ध प्लेइङ– ११मा समावेश भएका थिए। पहिलो खेलमै १ विकेट लिन सफल भए। यद्यपि, यो प्रतियोगितामा भने कर्णाली ३ विकेटले पराजित भयो।
त्यसपछि कर्णालीले तेस्रो खेलमा पनि विपिनलाई निरन्तरता दियो। चितवन राइनोजविरुद्धको यो खेलमा विपिनले जादू नै गरे। लगातार दुई खेलमा पराजित भएको कर्णालीले पहिलो जित दर्ता गर्दा विपिनले ३ विकेट लिए। र, यस खेलमा उनी नै ‘प्लेयर अफ द म्याच’ पनि बने।
चितवनविरुद्धको खेलमा जादूमयी प्रदर्शनी गरेर सबैको नजरमा परेका विपिनलाई चौथो खेलमा पनि कर्णालीले समावेश ग¥यो। विराटनगर किंग्सविरुद्धको यो खेलमा पनि विपिनले उत्कृष्ट प्रदर्शन गरे। यो खेलमा पनि विपिन २ विकेट लिन सफल भए। र, कर्णाली ७ रनले विजयी भयो।
त्यस्तै कणालीले पाँचौ खेलमा पनि विपिनलाई मैदानमा उता¥यो। कर्णाली पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटले विजयी हुँदा विपिनले १ विकेट लिए। यो खेलमा कर्णालीका विलियम बसिस्टोले एक्लै ६ विकेट लिएका थिए।
हालसम्मको नतिजाअनुसार विपिन एनपिएलमा सबैभन्दा बढी विकेट लिनेहरूको सूचीमा ११औं स्थानमा छन्। पहिलो स्थानमा रहेका जनकपुरका ललित राजवंशीले ११ विकेट लिँदा विपिनले ७ विकेट लिएका छन्।
यो सूचीको दोस्रो स्थानमा रहेका जनकपुरकै किशोर महतोले १०, तेस्रो स्थानमा रहेका चितवनबाट खेलिरहेको भारतीय खेलाडी सोहाइल तानवीरले ९ विकेट लिएका छन्।
विपिन कर्णालीबाट सबैभन्दा धेरै विकेट लिनेमा दोस्रो स्थानमा छन्। समान ७ विकेट लिएका बसिस्टो कर्णालीबाट सबैभन्दा धेरै विकेट लिएको पहिलो स्थानमा छन्।
राष्ट्रिय टोलीका अनुभवी बलरसमेत रहेका कर्णालीका कप्तान कामीले भने मात्रै ४ विकेट लिएका छन्।
यो समाचार तयार पर्दासम्मको अतिजाअनुसार विपिनले धेरै विकेट लिनेहरूको सूचीमा राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने, अविनाश बोहरा, दीपेश कँडेलजस्ता चर्चित खेलाडीलाई पछाडि पारेका छन्।
रमाइलो कुरा त के छ भने एनपिएलको सबैभन्दा ठुलो नाम भनिएका भारतीय खेलाडी शिखर धवन रहेको कर्णालीबाट स्थानीय खेलाडी रुपमा टोलीमा परेका विपिन चम्किएका छन्।
सुदूरपश्चिम रोयल्सले पनि आफ्ना ‘आइकोनिक’ खेलाडी बसन्त खत्रीलाई दुई खेलमा अवसर दिएको थियो। तर, बसन्तले भने पाएको अवसरलाई सदूपयोग गर्न सकेनन्।
सुदूरपश्चिमले बसन्तलाई पहिलो खेलमा खेल्ने मौका दिएको थियो। त्यसपछि दोस्रो खेलमा उनी बेन्चमा रहन पुगे। त्यस्तै तेस्रो खेलमा अवसर पाएका बसन्तले चौथो र पाँचौ खेलमा मैदान टेक्न पाएनन्।