नेपाल प्रिमियर लिग (एनपिएल) आज मंगलबार दुई खेल हुँदैछन्। बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रनेछन्।
चार खेल खेलेका यी दुवै टिममध्ये चितवन एक खेलमा हार बेहोरेको छ भने तीन खेलमा जित हात पारेको छ। लुम्बिनी भने चार खेलमध्ये चारै खेल हारेर अंक तालिकाको पुछारमा छ।
लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेट, दोस्रो खेलमा पोखरासँग १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रन र चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।
प्लेअपको सम्भावना कायमै राख्न पनि लुम्बिनी आज जित्नैपर्ने दबाबमा छ।
चितवन राइनोज तीन खेल जित्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ। चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले, दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।
यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। चार खेल खेलेको कर्णाली दुई खुल हारेको छ भने दुई खेलमा जीत निकालेको छ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेट र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेट र चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो।
यस्तै तीन खेल खेलको पोखराल दुईमा हार र एकमा जीत निकालेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।