राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हकसम्बन्धी सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताएकी हुन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भएको सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँगको छलफलमा भाग लिँदै उनले सबै नागरिकलाई सूचनाको हकबाट बञ्चित नगर्न स्थानीय तह,सबै वडामा यसको प्रयोगबारे तालिमको व्यवस्था गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘पछिल्लो समय सूचनाको हक प्रयोग गर्दैगर्दा प्रत्येक नागरिकले एउटा सरकारलाई र सरकारका सम्पूर्ण संयन्त्रलाई एउटा बलियो प्रतिपक्षको भूमिका प्रत्येक नागरिकले निभाउन सक्छ। तर सूचनाको हक कसरी प्रयोग गर्ने प्रकृया के हो कहाँ जाने उजुरी कहाँ, निवेदन कसरी दिने भन्ने किसिमका सामान्य जानकारीसम्म नभएको अवस्था छ। देशैभरीका सबै वडामा एउटा कार्यक्रम नै ल्याएर तालिमको सृजना गर्नुपर्छ।’
उनले संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक दिएको भएतापनि सूचनाहरु लुकाइने समस्या रहेको बताइन्।
उनले भनिन्, ‘संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक राख्दछ भनेर सुनिश्चित गरेको छ। तर सतहमा नआएका थुप्रै यस्ता विषयहरु छन्। जहाँ सूचनाहरु लुकाइन्छ। सूचना नदिई दबाबमा राखिन्छन्। यस्तो विषयलाई सम्बोधन गर्न राष्ट्रिय सूचना आयोगको तर्फबाट कुनै निकायहरुले गएर एउटा प्रणाली विकास गर्नुपर्छ।’