साताव्यापी चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता कमरेड झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गरेका छन्।
बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको हो।
छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।
उक्त छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरे।
करिब तीन घण्टा चलेको सामूहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुएश्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया किन सुरु भयो र यो ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा विस्तृत प्रकाश पारे।
साथै उनले खुलापनको नीतिले चीनको आन्तरिक विकासको साथसाथै चीनको सम्पर्क, सम्बन्ध, सहयोग र विकासका प्रक्रियालाई कसरी विश्वव्यापी रुपमा विस्तार गर्न मद्दत गर्यो र चीनको यो खुलापनको नीतिले विश्वलाई चीनको बारेमा जान्न र चीनलाई विश्वको कुरालाई जान्न अभुतपूर्व मद्दत पुगेको कुरा छलफलको क्रममा बताए।
चिनियाँ उपप्रधानमन्त्रीले खुलापन र सुधारको नीति र आधुनिकीकरणको प्रक्रियाबाट चीनले हाई क्वालिटी डेभलपमेन्टलाई पुर्याइरहेको असाधारण महत्वको बारेमा विस्तारपूर्वक प्रकाश पारे। साथै विश्वव्यापी शान्तिको बारेमा समेत चीनको धारणा राखे।
सम्मानित नेता खनाल सोमबार नै चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन ग्वाङ्झाउ पुग्नुभएको उनीसँगै भ्रमणमा रहेका विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए।
डा.खतिवडाको अनुसार पूर्व प्रधानमन्त्री खनालले मंगलबार उक्त कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन्। उक्त प्लेनरि सेसनको शिर्षक ‘चीनको सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू रहेको छ।