मोरङको उर्लाबारी-९ स्थित अल्पसंख्यक आठपहरिया समुदायले भव्य रूपमा वाडाङमेट (मंसिरे चाड) मनाएका छन्। किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा यो पर्व सम्पन्न गरिएको हो।
वाडाङमेट आठपहरिया समुदायको मुख्य पर्व हो, जसलाई प्रत्येक वर्ष कार्तिक पूर्णिमादेखि सुरु गरी १५ दिनसम्म मनाइन्छ। यस पर्वका अवसरमा समुदायले पितृ पूजा, जन्म र मृत्युसँग सम्बन्धित विभिन्न संस्कार सम्पन्न गर्छन्।
यस अवधिमा सुनसरीको बराह क्षेत्रमा वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा दुःख बगाउने परम्परा छ। यस्तै, जेठो सन्तान प्राप्त भएको खुसियालीमा भोज खाएर खुशी साटासाट गर्ने प्रथा रहेको छ।
मारुनी नाच, ढोल बजाउने, र मौलिक मुन्धुम गाउँदै उत्सव मनाउने परम्पराले समुदायलाई वर्षभरिको पीर मर्का बिर्साउने गर्छ। पर्व मनाउन टाढा भएका सदस्यहरू पनि घर फर्किने चलन छ।
आठपहरिया समुदायका लागि वाडाङमेट धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। किरात आठपहरिया समाजका मोरङ जिल्ला अध्यक्ष हरि आठपहरियाका अनुसार, यो पर्वले पितृपूजाका साथै वर्षभरिका दुःखलाई चोख्याउने, नयाँ घर निर्माणको शुद्धिकरण गर्ने र पहिलो सन्तानको आगमनमा हर्षबढाइँ गर्ने परम्परा समेटेको छ।
यस पर्वमा कात्तिकको भाइटिकाको दिन जमरा राखेर देवी आह्वान गरिन्छ, र मंसिर औंसीसम्म विभिन्न विधि पूरा गरिन्छ।
तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको किंवदन्ती यो पर्वसँग जोडिएको छ। बराहलाई समुदायले आफ्नो इस्टदेवी मार्गा थानीका दाजुको रूपमा पूजा गर्ने चलन छ। यस कारण आठपहरियाहरूले मार्गालाई आमा र बराहलाई मामाको रूपमा सम्मान गर्छन्।
वाडाङमेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यका लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाएर वढाङमी र मारुनी नृत्य प्रस्तुत गरिन्छ।
सांस्कृतिक कार्यक्रमसहित उर्लाबारी-९ स्थित महाराजस्थान इन्द्रेझोडामा आयोजना गरिएको कार्यक्रमको प्रमुख आतिथ्य विद्या चाम्लिङले गरिन्।
कार्यक्रममा किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्ट बहादुर छोङदेन, महासचिव कोमल किम्दाङ, वडा अध्यक्ष नरबहादुर मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारीका अध्यक्ष सम्शेर लिम्बू, पत्रकार, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आदिवासी जनजातिमा सूचीकृत हुन माग गर्दै आएको आठपहरिया समुदायको यो चाड, सामाजिक, धार्मिक र सांस्कृतिक महत्वका कारण विशेष मानिन्छ। यो समुदायले आफ्नो मौलिक संस्कृति र पहिचान जोगाउँदै निरन्तर पहिचानका लागि संघर्ष गर्दै आएको छ।