१५ वर्ष पुरानो थोत्रो ल्यापटपको सहाराले एक रोल्पाली लेखक अमर अधिकारीले साहित्य-लेखनमा कीर्तिमान कायम गरेका छन्। कहिलेकाहीँ दिनमा उनका ३/४ वटासम्म लेखरचनाहरू प्रकाशन हुँदै आएका छन्। ल्यापटप फुटेको छ, राम्रोसँग फोल्ड पनि हुँदैन र छेउँमा वेल्डिङ गरिएको छ।
ल्यापटपको किबोर्ड र स्क्रिन ज्वाइनमा रहेको भ्वाङबाट भित्रबाट निस्कनलागेको जस्तो लाग्ने सेतो र कालो मसिना तारहरू पनि देखिन्छन्। त्यही जीर्ण र थोत्रो ल्यापटपको सहारामा उनले साहित्य-लेखनमा तहल्का नै मच्चाएका छन्।
उनले दुई घण्टामै १२ सय शब्दहरूको एउटा लेख तयार गर्छन् भने १५ मिनेटमै एक गीत वा कविता रच्नसक्छन्। ३ मिनेटमै उनको एउटा मुक्तक बन्छ। गजल र हाइकुमा लगाव नभएका अधिकारीले कुनै एक मञ्चमा अरु नै गजलकारको गजल वाचन गरेका थिए भने एकैछिनको तयारीमा हाइकु रचेर नेपाल प्रज्ञाप्रतिष्ठानको मञ्चबाट हाइकु वाचन गरेका थिए।
लेखर-चनाका लागि उनलाई कम्प्युटर अपरेटर, भाषाविद्, ब्याकरणविद्को आवश्यक पर्दैन। उनले गोजीमा कलम त राख्छन्। त्यो कलम गोजीको शोभाका लागि मात्र राख्ने बताउँछन्। भन्छन्, ‘कलमको अपमान गरेको भने होइन।’ बाटोमा हिँड्दैगर्दा होस् वा सार्वजनिक गाडीमा बसेको बखत होस्, उनले मोबाइलमै रचना गरि नैरहेका हुन्छन्। उनको पुस्तक ‘ओगिल्जा’ पनि मोबाइलमै कोरिएको ऐतिहासिक पुस्तक हो।
२०८० मंसिर १० बाट सुरु भएको अमर अधिकारीको लेखन यात्राको दौरानमा २०८१ मंसिर १० सम्म आउँदा एक वर्षको अवधिमा करिब २०० संख्यामा लेख-रचनाहरू प्रकाशन भएका छन्।
नेपालमा सबैभन्दा कम पेन्सन बुझ्ने पूर्वअधिकृत अधिकारी २०७९ असारमा अनिवार्य अवकाश भएलगत्तै उनले जन्मथलो रोल्पाको सेरोफेरोको गीत ‘साइँली सलल’ रेकर्डिङ गराउन सफल भएका थिए भने लगत्तै आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरू’ नामक भेगीय शब्दकोश प्रकाशन गर्न सफल भए।
उनको ‘ओगिल्जा’ पुस्तक प्रकाशन भएको छ महिनामै सकिएको छ। उनी २०७६ फागुन अन्तिममा मालपोत कार्यालय रोल्पाको प्रमुख भएर गएको केही महिनामै सो कार्यालय छोडेर कमजोर निकायमा सरुवा भएर काठमाडौँ आए। २०७९ असार २२ सम्म रोल्पा मालपोतमा बस्नुपर्नेमा मालपोत उनको रुचिको निकाय नभएको कारण सरुवा मागेका थिए।
उनी पहिलेदेखि नै कर्मचारीतन्त्रमा देखिने खराब प्रवृतत्तिका विरुद्ध लेख-रचनाहरू प्रकाशन गर्दैआएका छन्। वहाल रहँदा उनले सरकारबाट पाउनुपर्ने केही सुविधाहरूबाट समेत बञ्चित भएका थिए। केही खराब कर्मचारीहरूका कारण समग्र कर्मचारीतन्त्र बदनाम छ। अवकाश पाएपछि उनले ठूलो मुक्ति पाएको महसुस गरेका छन्।
अवकाशपछि एक गीत र दुई पुस्तक प्रकाशन पछि उनी लागिपरे देशमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा लेखहरू लेख्न। २०८० मंसिर १० बाट लेखन कार्यमा पुनः सक्रिय रहेका अधिकारीका लेखरचनाहरू पहिल्यैदेखि नै गोरखापत्र, युवामञ्च, मधुपर्क तथा कान्तिपुर लगायतका पत्रपत्रिकाहरूमा प्रकाशन हुन्थे।
उनी २०५३ सालमा गोरखापत्रमा प्रकाशित पहिलो कथा ‘भाग्य र कर्म’ शिर्षकको कथाबाट साहित्ययात्रामा होमिएका थिए। सो कथामा एक इमान्दार कर्मचारी र एक भ्रष्टाचारी कर्मचारीलाई पात्र बनाइएको छ।
उनले कुनैबखत काठमाडौमा सक्रिय रहेको रोल्पा विकास समाजको कोषाध्यक्ष भएर काम गरेका थिए भने समाजको मुखपत्र ‘रोल्पाविम्ब’ को पहिलो प्रकाशनका लागि व्यवस्थापकको रुपमा काम गरेका थिए भने दोस्रो प्रकाशनका लागि सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। त्यसपछि बालपत्रिका ‘बालमार्ग’ को सक्रिय सल्लाहकार भएर पनि काम गरे। पछि विज्ञापनको अभावमा सो बाल साहित्यिक पत्रिका बन्द हुनपुग्यो। अधिकारीले २०६१ पछि भने केहीवर्ष लेखन कार्य स्थगित गरेका थिए।
अनिवार्य अवकाशपछि भने लेखन कार्यमा पुनः सक्रिय छन्। एकवर्ष यताका उनका लेखहरू प्रभावकारी हुँदैआएका छन्। उनको लेखकै कारण कतै सुधार भएको पनि देखिएको छ। उनको एउटा लेखका कारण ठगको गिरोह सम्पादकलाई नै घेर्न पुगेका थिए।
सुरुसुरुमा अधिकारीले आफ्ना लेखहरू फेसबुकमा शेयर गर्दा केही पहुँचवालाहरूले फेसबुकबाटै हटाउन पनि लगाएका थिए। उनलाई बेलाबेलामा धम्की पनि आउनेगरेको पाइनेछ। उनी भन्छन्, ‘धम्की दिने कुनै पार्टीका झोले नै हुन्।’
एउटा मिडियाले अस्वीकार गरेको अधिकारीको एक लेख अर्को मिडियाले प्रकाशन गरेपछि सो लेख सर्वाधिक लोकप्रिय बन्न पुगेको छ। ‘बालबालिकालाई संस्कार सिकाउने १९ सुत्र’ शीर्षकको उक्त लेख साउन १८ मा प्रकाशन भएपछि धेरैले रुचाएका र धेरैभन्दा धेरै पाठकहरूले शेयर गरिदिएका थिए। सो लेख प्रकाशन भएको चारमहिना हुनलाग्दा समेत शेयर भैरहेको देखिन्छ।
अधिकारी ज्ञान-चेतनाका लेखहरू पनि लेख्छन्। भारतबाट आउने योगीहरूले विभिन्न वहानामा पैसा लिएर ज्ञान-चेतना बेच्छन् भने अधिकारीले लेखहरूमार्फत् दुनियाँलाई निःशुल्क ज्ञान र चेतना बाँड्दै आएका छन्। योगीको भेषमा केही पाखण्डीहरूले नेपाली अन्धभक्तहरूबाट रकम असुलेर भारतमा ओसारेका कुरा पनि उनलाई जानकारी छ। त्यसबारे उनी प्रमाण पनि देखाउनसक्छन्।
नेपालका कैयन भ्रष्टाचारका उदाहरणहरू उनलाई कण्ठस्थ छ। ४२ वर्ष काठमाडौँमा त्यसमा पनि १२ वर्ष सिंहदरबारभित्र बिताएका अधिकारी एकाएक चर्चामा आएका लेखक तथा साहित्यकार हुन्। अधिकारीकै जीवनीमा आधारित पुस्तक प्रकाशनको क्रममा रहेको छ।