काठमाडौंको टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना गरिएको छ।
टोखा नगरपालिका– २ र ३को आयोजना तथा नेवाः गुठी र टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो। सोही महोत्सवमा बसेकी होटल व्यवसायी सृष्टि डंगोलले खाजा महोत्सवमा नेवारी परिकारहरु राख्ने गरेको बताइन्।
उनले भनिन्, ‘अहिले हाम्रो सडक खाजा महोत्सव भइरहेको छ। यो सुरु भएको चार हप्ता जति भयो, प्रत्येक हप्ताको शनिबार हुन्छ। यसमा हाम्रो नेवारी परिकारहरु राख्ने गरेका छौ।’
टोखा गेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा स्थानीय महिलाहरुले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ।